राजतन्त्रबारे प्रचण्डको धारणा-चिहानमा पुगेको राजतन्त्र फर्कदैन


 


काठमाडौं, भदौ २३
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको राजतन्त्र फेरि नफर्किने बताएका छन्।

सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

‘कहिलेकाही सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ। यो कुरा आत्मसात गर्नुपर्छ।’
पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिका गतिविधितर्फ संकेत गर्दै उनले भने, ‘चिहानबाट फेरि भुतप्रेतलाई ल्याउँदैमा चिहानमा पुगिसकेको कुरा फेरि व्युतिँदैन। फर्किन्छ भन्ने कुरा त विज्ञानले मान्दैन। तर पनि तिनका प्रेत आत्माहरु बेला बेला आउने र जिवित मानवहरुलाई कुनै न कुनै रुपमा दुःख दिने गर्दा रहेछन्।’

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने कुटनीतिका साथ आन्दोलनमा प्रदर्शित गरिएको त्याग तपस्या बलिदानलाई बदनाम गर्ने, हिजोका सामन्त, निरंकुशतावादीहरु र सबै अत्याचारीलाई फेरि कुनै न कुनै रुपमा अगाडि ल्याउने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको छ’, उनले भने।

यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने, जनतालाई अझै धेरै सकारात्मक परिणामहरु दिने, जनता परिचालन गर्ने र सम्बन्ध सुदृढ गर्ने, पार्टी एकतालाई अझ बलियो बनाउन जरुरी रहेको अध्यक्ष दाहालको भनाई छ।

उनले पार्टी एकताका काम छिट्टै टुंगिने र सरकारले पनि काम गरिरहेको बताए। ‘काम त गरेको छ। तर, जनअपेक्षा धेरै छन्। तिनलाई समेट्न कामको गति बढाउनुपर्छ’, उनले भने।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्