ओली सरकारले चिनियाँ विदेशमन्त्रीलाई दियो भारतीय जयशंकरभन्दा उच्च सम्मान


 


काठमाडौं, भदौ २३
केपी शर्मा ओली नेतृत्वको सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीलाई उच्च सम्मान दिएको छ। यसअगाडि नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरभन्दा बढी सम्मान चिनियाँ विदेशमन्त्रीलाई दिइएको हो। हुन पनि चीन विश्वकै दोस्रो ठूलो पावर सेन्टर अर्थात उदाउँदो शक्ति हो।

स्वाभाविक रुपमा पनि चीनलाई उच्च सम्मान दिनुनै पर्छ। तर, नेपाल दक्षिण छिमेकी भारततिर ढल्किरहेको, चीनलाई वेवास्था गरेको आरोप खेप्दै आइरहेका बेला ओलीले सरकारले चिनियाँ मन्त्रीलाई भव्य स्वागतसहित उच्च सम्मान दिएको हो।

आइतबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्रीलाई स्वागत गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवलाई पठाएको थियो। यादवको नेतृत्वमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत विमानस्थल पुगेका थिए।

यता दुई साताअघि नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भने विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए। जयशंकरलाई स्वागत गर्न सरकारले मन्त्री पठाएन। यसबाट ओली सरकारले चीनलाई उच्च प्राथमिकता दिएको प्रष्ट हुन्छ।

चिनियाँ विदेशमन्त्रीले आज प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी भेट गर्नेछन्। साथै नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग दुईपक्षीय वार्ता गर्नेछन्। विदेशमन्त्री वाङ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारीका लागि नेपाल आएका हुन्।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्