एनसेल बम विष्फोटन घटनामा संलग्न अभियुक्त पक्राउ


 


ललितपुर, असोज ८
ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त प्रकाउ परेका छन् । ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका १ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

२०७५ फागुन १० गते भएको बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका ३ बोझेपोखरीस्थित प्रदेश ३०२-००३ प ५१३१ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको सो परिसरले जनाएको छ ।

साथै उनको साथबाट नेकपा बिप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका दस्तावेज किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको छ ।
साथै २०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका २३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको घटनामा समेत निज बिश्वकर्मा संलग्न रहेको उक्त परिसरले जनाएको छ ।

पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । साथै उक्त घटनामा संलग्न सुर्दशन भन्ने हेमन्त प्रकाश ओली २०७५ चैत ९ गते ललितपुर चापागाँउ ठेचोबाट पक्राउ परी बिष्फोटक पदार्थ (बम) बिष्फोटन गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य बिरुद्दको कसुर र संङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्