एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार


 


ललितपुर, ९ कात्तिक

नेपाली काङ्गे्सका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन । गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

उनले भने, “मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सकिदैन ।” थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी काङ्ग्रेसमा लागि परेको उपसभापति गच्छदारको भनाइ थियो । उनले भने, “काङ्ग्रेसमा रहेर महँगी र भ्रष्टाचारलगायत विसङ्गति नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गरिरहेको छु ।” आगामी निर्वाचनमा विजय हासिल गर्न काङ्ग्रेस लागिपरेको उनको भनाइ थियो ।

उपसभापति गच्छदारले युवा पुस्ताले पुराना पुस्ताको कदर गर्दै उनीहरुको योगदानलाई बिर्सनु नहुने बताए । “देश निर्माणमा युवा पुस्ता अनुशासित भएर अघि बढ्नुपर्छ”, उपसभापति गच्छदारले भने । काङ्ग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक संस्कार अङ्गाल्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले चाडपर्वले सबै नेपालीको कामना पूरा होस् भने । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख मुना अधिकारीले काङ्गे्रसको जागरण अभियानले मुलुकमा ऊर्जा थपेको बताइन ।

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्