नेकपा र ओलीलाई चीनको बलियो साथले मोदीको निद्रा हराम, दिल्लीमा यस्तो चिन्ता


 


काठमाडौं, मंसिर ९

नेपालमा बढ्दो चीनको प्रभाव तथा सहयोग आदानप्रदानले भारत चिन्तित देखिएको छ । नरेन्द्र मोदी सरकारदेखि कर्मचारी तन्त्र चिनियाँ उपस्थितीलाई लिएर चिन्तामा छ । यसैक्रममा नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रायले चीनको प्रभाव बन्ढ्दा भारतको भूमिका खस्किएको भन्दै चिन्तित बनेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताउँदै उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीलाई एकता गराउन चीनले निर्णायक भूमिका खेलेको दाबी गरे ।

भारतीय मिडिया ‘द वायर’ सँग भिडियो अन्तर्वार्ता दिँदै रायले चीन नेपालको घरेलु राजनीतिमा पसेको आरोप लगाए । ‘नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच जुन सम्वन्ध विकास भइरहेको छ, त्यो चिन्ताजनक छ,’ उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीका मानिसहरु नेपालमै आएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई सी जिनपिङ विचारधाराको प्रशिक्षण दिएका छन् ।’

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच चीनले नै एकता गराइदिएको दाबी गर्दै पूर्व राजदूत रायले भने, ‘चीन नेपालको घरेलु राजनीतिमा मज्जासित घुस्न थालेको छ । नेपालका सबै वामपन्थी शक्तिहरुलाई एक बनाउने उसको प्रयास हो ।’

यद्यपि उनले नेपालमा भारतको विकल्प चीन कुनै हालतमा बन्न नसक्ने उनको दाबी छ । उनी भन्छन्, ‘भौगोलिक वस्तुस्थिति नै यस्तो छ कि नेपाल र चीनबीच सामान ओसारपासर सम्भव छैन । चीनको नजिकको बन्दरगाह पनि नेपालबाट ३५ सय किलोमिटर टाढा छ । त्यही भएर नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन हुन सकेको छैन ।’

भारतसँग सम्वन्ध बिग्रिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट सामान ल्याउने चेतावनी दिएपनि त्यो सफल नभएको रायले बताए । ‘उनीहरुले सांकेतिकरुपमा एक–दुई ट्याङ्कर तेल ल्याए । त्यसपछि त्यो बन्द भयो,’ भारतका पूर्व राजदूत रायले भने ।

राजा महेन्द्रको पालादेखि नै नेपालमा भारतसँग सम्वन्ध बिग्रिदा चीनतर्फ फर्किने प्रवृत्ति रहेको औंल्याउँदै यो कहिल्यै सफल नभएको रायले बताए । ‘१७ सालमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि महेन्द्रले कम्युनिष्टलाई हातमा लिएका थिए,’ रायले दाबी गरे, ‘महेन्द्रकै विचारको धङधङी नेपालका कम्युनिष्ट पार्टीहरुमा छ ।’

नेपालमा चीनले सक्रिय भूमिका निभाउन खोजिरहेको भन्दै पटकपटक चिन्ता व्यक्त गरेका रायले त्यसलाई पुष्टि गर्न विभिन्न तर्क राखे । उनले भने, ‘नेपाल र चीनले पहिलोपटक संयुक्त सैन्य अभ्यास गरे । चीनले नेपाली सेनालाई सैन्य उपकरणहरु सहयोग गर्‍यो । बीआरआईमा नेपाललाई समेट्न खोजिरहेको छ । नेपालका कम्युनिष्टलाई एक सूत्रमा बाँध्न खोजिरहेको छ । पहिले अरु देशको आन्तरिक राजनीतिमा खासै चासो नदिने चीन अहिले नेपालमा गहिरो रुपमा भूमिका खेलिरहेको छ ।’

चीनले पनि तिब्बतको कारण नेपाललाई प्राथमिकतामा राखेको पूर्व राजदूत रायको तर्क छ । साथै नेपालमा पश्चिमाहरुको भूमिका बढेको चीनले नरुचाउने गरेको उनले सुनाए ।

नेपालका दुई राजनीतिक शक्तिको विश्लेषण गर्दै रायले भने, ‘अहिले नेपालमा चीनको हस्तक्षेप बढ्नुको कारण कम्युनिष्टको सरकार भएर पनि हो । कांग्रेसको सरकार भएको भए यस्तो हुँदैनथ्यो ।’

चीनले नेपाललाई अरु सहयोग गरे पनि रेल भने नबनाइदिने रायको भविष्यवाणी छ । उनले भने, ‘मलाई लाग्दैन कि चीनले मल्टीबिलियन डलर खर्च गरेर नेपालमा रेल बनाउँछ । किनकी रेलबाट चिनियाँ सामान भारतमा पठाउने सुनिश्चित नभएसम्म त्यो बनाउनुको अर्थ हुँदैन ।’

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्