कानुन मन्त्रालयमा सरुवा गरेपछि उपेन्द्र यादवले प्रधानमन्त्रीलाई के भने ? सुन्ने जति सबै चकित


 


काठमाडौं, मंसिर ९

मन्त्रिमण्डल पुनर्गठनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएका उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाह नगरेरै यादवको मन्त्रालय सारेपछि यादवले पदभार ग्रहणका क्रममा सञ्चारकर्मीमाझ ओलीको आलोचना वा विरोध गर्छन भन्ने आम बुझाइ थियो ।

तर, यादवले नयाँ जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएर सबैलाई आश्चर्यमा पारेका छन् । यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए । मन्त्रालय सार्नेबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो भनेर पत्रकारले प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘धेरै मन्त्रालयको अनुभव होस्, अनुभवी नेता बनोस् भनेर पठाएको हुनसक्छ । अर्को विषय मिल्ने मन्त्रालयमा पठाउँ भनेर पनि हुनसक्छ । अलि बढी नै माया गरेर पनि हुनसक्छ ।’ मन्त्री हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएको उनको भनाई छ ।

मधेस मुलबाट उदाएका नेता यादवले मधेसीको माग सम्बोधन गर्न संविधान संशोधनको सहमति कार्यान्वयनको बेला आएको समेत बताए । उनले भने, ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौं । अब कार्यान्वयन गर्ने बेला आएको छ ।’ कानुन मन्त्रालयमै बसेर संविधान संशोधन गराएरै छाड्ने उनको भनाई छ ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्