अन्नतः विद्यार्थी ठग्ने मेडिकल कलेजविरुद्ध ओली सरकारले लियो एक्सन


 


काठमाडौं, मंसिर ९

सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजविरुद्ध एक्सन लिन सुरु गर्ने भएको छ । भोलि (मंगलबार)सम्म विद्यार्थी ठगेर लिएको रकम फिर्ता नगरे सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउने सरकारको निर्णय छ ।

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थितमा बसेकाे बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले मंगलबारसम्ममा अतिरिक्त शुल्क फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसीमा भोलि सकिँदैछ ।

हिजाे मात्रै सत्तारूढ नेकपा निकट अनेरास्ववियुले केन्द्रीय नेताकाे उपस्थितीमा वीरगन्जमा बसरूद्दिन अन्सारी (नेशनल मेडिकल कलेज)लाइ पक्राउ तथा विद्यार्थीकाे शुल्क फिर्ताकाे माग गर्दै विराेध प्रदर्शन गरेकाे थियाे ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्