राष्ट्रपतिले हस्तक्षेप गरेकोबारे प्रधानमन्त्री ओलीको कडा प्रतिक्रिया


 


काठमाडौं, मंसिर १०

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कुनै हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित आम नागरिकले संवैधानिक राष्ट्रपतिले कुनै एक पार्टीको भागवण्डामा राजनीति गरेको तथा सरकारका काममा पनि हस्तक्षेप गरेको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले कुनै हस्तक्षेप नगरेको दाबी गरेका हुन् ।

यसअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिनुभन्दा अघि राष्ट्रपति कार्यालयमा भण्डारीसँग भेट गरेका थिए । उक्त भेटपछि राष्ट्रपतिको रहोवरमा प्रचण्डलाई कार्यकारी अधिकार दिइएको खबरहरु सार्वजनिक भएका थिए । यसबारे कान्तिपुर टेलिभिजनका लागि पत्रकार भुषण दाहालले हस्तक्षेप छ भनी सोधेको प्रश्नमा ओलीले यसमा कुनै सत्यता नभएको बताए ।

‘राष्ट्रपति निर्विवाद, निष्पक्ष, मर्यादित र आफ्नो ठाउँमा हुनुहुन्छ । कार्यकारी प्रमुखको हिसाबले म प्रधानमन्त्रीको रुपमा काम गरिरहेको छु । मेरो काममा राष्ट्रपतिबाट कुनै हस्तक्षेप छैन । संविधानले पनि गर्न दिँदैन । र व्यवहारिक रुपमा पनि त्यो सम्भव हुँदैन । पार्टीतर्फ, पार्टीहरुका काममा पनि राष्ट्रपतिको चासो, रुची हुने कुरा भएन । हस्तक्षेपको त कुरै छोडौं’, उनले भने ।

हामी दुइजना अध्यक्ष राष्ट्रपतिकहाँ गएका थियौं । दुइजना अध्यक्ष एकजना जस्तै हो । एउटै मुद्दा, एउटै विषय हाम्रो हुन्छ । सँगै गएका थियौं । हामीले देशको स्थितीबारे राष्ट्रपतिलाई दुबैले अलिकति बिफ्रिङ गर्यौं । हाम्रो फोकस त्यहीँ कुरामा थियो । यो कुनै हस्तक्षेप होइन । जानकारी गराउनु मेरो कर्तव्य नै हो । राष्ट्रपति सरकार र संसदसँग अभिन्नसँग जोडिएको हुन्छ । त्यसकारण यो कुनै हस्तक्षेप होइन’, उनले भने ।

प्रकाशित मिति: १० मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्