प्रमुख प्रशासकीय अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ


 


रुकुम, पुस ३
रूकुम पश्चिममा एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना कुटिएका छन्।आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका हुन् ।

कुटपिटको आरोपमा प्रहरीले सोही नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ ।

कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् ।त्यहाँ असुरक्षासँगै थप उपचार गर्नुपर्ने भएपछि उनी जिल्ला सदरमुकाम मुसिकोट आएका छन् । मुसिकोटमा पनि उपचार सम्भव नभएपछि आफू काठमाडौं जान लागेको उनले बताए ।

कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले कुटपिट गरेको दाबी गरे । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको उनको भनाइ छ । ‘बसेरा–खदी सडकको बजेटमा महालेखाले २९ लाख बेरुजु देखाएपछि उनले मिलाउन भनेका थिए । मैले सकिँदैन भनेपछि उनी मसँग रूष्ट थिए’, निमित्त प्रशासकीय अधिकृत केसीले अनलाइनखबरसँग भने, ‘त्यसैको रिस फेर्न उनले बुधबार मलाई आक्रमण गरे ।’

त्यहाँ गएर काम गर्ने वातावरण नभएको भन्दै उनले अन्यत्र सरुवा गरिदिनसमेत माग गरेका छन् । ‘अब त्यहाँ गएर काम गर्ने वातावरण छैन’, उनले भने, ‘असुरक्षित भएपछि सरुवा मागेको छु ।’केसीले केशरमानकै योजनामा आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति: ३ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्