राधाकृष्ण मैनाली भन्छन् : उधुम गफाडी थिए केपी ओली


 


काठमाडौं, पुस १९
राजनीतिले दिएको अवसरको कुरा गर्दा यो देशमा दुई मान्छेको तुलना गर्न मन लाग्छ मलाई । एउटा बीपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को केपी (खड्गप्रसाद शर्मा ओली) । यो भनाइ हो राधाकृष्ण मैनालीको। जुन आजको कान्तिपुरमा छापिएको छ।

उनी अगाडि भन्छन् : इतिहासको अलग–अलग कालखण्डमा जन्मिएका यी दुवैले अलग–अलग समयमा चुनावमा बहुमत ल्याए र प्रधानमन्त्री बने। नेपालको इतिहासमा जम्मा दुई पटक भएको दुई तिहाइको सरकारका प्रमुख बीपी र केपीको जीवनचाहिँ आकाश-जमिनको फरक रह्यो।

बीपी जन्मजात सम्पन्न थिए। बाबु कृष्णप्रसादको राणाहरूसँग कुरा नमिल्दा उनी परिवारका साथ निर्वासनमा जानुपर्‍यो। त्यस बखत गरिबीका कारण नास्तामा चना र सक्खर खानुपर्ने अवस्था आइलागेको बीपीले लेखेका छन्। उनका लागि त्यो तुच्छ र गरिबले खाने भोजन त्यतिबेला आम नेपालीका लागि राम्रै खाना हो, जो हरकसैका लागि सजिलै पाइने वस्तु थिएन। यसबाट पनि थाहा हुन्छ, बीपी एक सम्भ्रान्त मानिस थिए। र नै त, त्यस्तो लखेटिएको जिन्दगीमा पनि उनले स्नातकसम्म पढ्न सके।

राणाविरुद्ध निर्वासनमै बसेर संघर्ष गरेका बीपी २००७ सालपछि नेपाल फर्के। दरबार र दाजुसँगको संघर्षका माझ उनले २०१५ मा चुनाव जिते र दुई तिहाइको शक्तिशाली सरकार बनाए। तर, १८ महिनाभन्दा बढी काम गर्न पाएनन्। किनभने, सरकार जति शक्तिशाली भए पनि त्यसभन्दा माथि दरबार थियो, महत्त्वाकांक्षी राजा थिए। १८ महिनाको छोटो अवधि शासन गर्न पाउँदा पनि बीपी नेपाली राजनीतिको इतिहासमा एक जिउँदो मान्छे भएर बिते। उनलाई आज पनि उत्तिकै श्रद्धा र सम्मानका साथ मानिसले हेरिरहेका छन्। उनले गर्न केही पाएनन्, तर पनि बीपीसँग योजनाहरू थिए, गर्न सक्ने आँट अनि भरोसा थियो। त्योभन्दा बढी थियो उनको नेतृत्व क्षमता र मानिसबाट कामलिन सक्ने खुबी।

यता केपीको सत्तालाई हलचल गराउने न दरबार छ, न अरू कुनै अदृश्य शक्ति नै। उनले दुई वर्षभन्दा बढी अवधि गुजारी पनि सके पाँच वर्षे सरकारको। तर पनि उल्लेख्य काम उनले गर्न सकेका छैनन्। तर उनले सपना भने राम्रै देखाइरहेका छन् । कहिले रेल ल्याउने कुरा गर्छन्, कहिले पानीजहाजको टिकट काट्नेहरू तयार हुनुस् भन्छन्। एक पटक उनले संसद्मै उभिएर अब एक वर्षपछि नेपालमा घर नहुनेहरू कोही पाइने छैनन् भने । यसरी हठात् घोषणा गर्दा कति मान्छेसँग घर छैन र उनीहरूलाई घर दिन कति खर्च आवश्यक पर्छ भन्ने कुनै तथ्यांकसम्म उनीसँग थिएन, दिने आर्थिक हैसियत त परको कुरा । अर्को पटक यस्तै हचुवाका भरमा उनले फेरि भने– अब यो देशमा स्कुल नजाने बालबालिका हुने छैनन् । कति बालबालिका स्कुल जाँदैनन्, गएकाले पनि किन छाड्छन् भन्ने अनुसन्धान नै नगरी उनले यसो भनेका थिए । यस्ता बिना खोजबिनका केपीका कुरा सम्झ्यो भने अरू पनि बग्रेल्ती छन्।

उनका यस्ता कुरा सुन्दा मलाई केपीका बाल्यकाल झलझल्ती याद आउँछ। सानामा उनी यस्तै उधुमका गफाडी थिए । उनलाई समूहमा आफू सबभन्दा जान्ने भएर प्रस्तुत हुन मन पर्थ्यो, उनका वरपर भएका चाहिँ उनलाई त्यस स्तरमा पत्याउँदैनथे । तयारी नगरी र क्षमता नभई बोल्ने उनको बानीले मान्छेको विश्वास गर्न सक्ने सामर्थ्य नै खत्तम पार्थ्यो । उनको नानीदेखि लागेको त्यही बानी अहिले प्रधानमन्त्री हुँदासम्म पनि गएको छैन । त्यसैले उनी तयारी नै नगरी मनमा लागेका विकासका कुरा फटाफट भनिदिन्छन् । अनि, मान्छेहरू उनका कुरा सुनेर हाँस्नुपर्ने अवस्थामा पुग्छन् । यस्तो बानीले गर्दा ओलीले देशलाई बदल्न सक्ने अवसर गुमाइरहेका छन् जस्तो मलाई लाग्छ । नत्र, कहीँ प्रधानमन्त्रीले मन्त्रीसँग र मन्त्रीले सचिवसँग करारनामा गराउँछ रु मन्त्री हुनु, सचिव हुनु नै काम गर्छु भन्ने करार हो नि, यसमा एनजीओ शैली निकालेर करार गर्ने कुरा कहाँबाट आयो रु

रेल ल्याउँछु, पानी जहाज चलाउँछु भन्नु नराम्रो होइन । गर्न सके, यो बहुतै राम्रो हो । तर, के यसका लागि तयारी चाहिँदैन रु क्षमताको आवश्यकता पर्दैन रु कुनै अनुसन्धानै नगरी, केही नापजोखै नभई कसरी आउँछ रेल रु कसरी चल्छ पानी जहाज रु यो देशको मूल समस्या भनेको गरिबी हो । दुर्गममा बस्नेहरू धेरै छन् यो देशमा । तिनको जीवनस्तर पानीजहाज र रेलले होइन सडकसम्मको पहुँचले उठ्छ । गुणस्तरीय सडक सञ्जालले यो देशलाई जोड्ने योजना ल्याउनुपर्ने हो उनले । तर, यसमा उनको ध्यानै छैन । खालि पानीजहाज र रेलको सपना देखेर उनी बसिरहेका छन् । उही, झापामै हुँदाजस्तो उनी अरूका कुरा नसुन्ने, अरूले उनका कुरा नसुन्ने त भइरहेको छैन अहिले?

मेरै राजनीतिक नेतृत्वमा कम्युनिस्ट आन्दोलनमा लागेका केपी आखिर यस्तो किन भए त भनेर म अक्सर सोच्ने गर्छु। अनि म उनको विगतलाई नियाल्न पुग्छु।

घनश्याम खड्कासँगको कुराकानीमा मैनाली अगाडि भन्छन् : केपीको जिन्दगीको सुरुवात नै चरम गरिबी र एक्लोपनबाट भयो । सानैमा आमा बितेकी हुनाले केपीले मानवीय स्नेह नै पाएनन् । कतिपय त के पनि भन्छन् भने न्वारन नहुँदै केपीले मातृवियोग भोग्नुपर्‍यो । आमा बितिन् यता, उता बाबुले दोस्रो बिहे गरे । यसरी शैशवकालमै परित्यक्तजस्ता केपीलाई उनका बडाबाउले पाले । अलिपछि उनका तेह्रथुमे छिमेकी रामनाथ दाहालले केही भरथेग गरे । झापामा रामनाथको अथाह जमिन थियो र उनी नोकरचाकरसहित ठाँटले बसेका थिए । तर, अवाला र अभरमा परेकाप्रति उनको हृदय दयालु थियो । त्यसैले उनकोमा दुई–चार केटाकेटी भोजन र आवासको सुविधा लिएर पढिरहेकै हुन्थे । यसरी पढ्ने बालकमा केपी पनि एक थिए, जसलाई रामनाथले विशेष माया गर्थे । किनभने, रामनाथमा भएका केटामध्ये सबभन्दा बाठा थिए उनी।

केपी कम्युनिस्ट आन्दोलनमा लागेको पनि आफ्ना अन्नदाताकै प्रभावले हो। धनी भए पनि रामनाथ सामन्ती व्यवस्थाको विरोध गर्थे । त्यसको प्रभाव केपीमा पनि पर्न गयो र उनी पनि पार्टीमा लागे । त्यसै उपक्रममा उनीसँग मेरो भेट भएको थियो २०२७ सालतिर । तिनताक म मनमोहनको पार्टी हाँक्ने शैलीदेखि वाक्क भएको थिएँ । त्यसैले विद्रोह गरेर नयाँ मोर्चा खडा गरेँ, जसमा रामनाथ पनि सहभागी थिए । हामीले नयाँ ढंगले क्रान्ति गर्ने भनी २०२८ सालमा झापा विद्रोह सुरु गर्दा केपी पनि रामनाथको साथसाथै सक्रिय भएर लागे । मलाई २०२९ सालमा टीबी लागेपछि केपीलाई नै सचिव बनाइयो । तर, तीनमहिने सचिव कार्यकालमा केपीले कुनै बैठकै बोलाएनन्, केही निर्णय नै हुन पाएन। यसले देखाउँछ, अरूको सल्लाह लिन जरुरत छैन भन्ने उनलाई त्यतिबेलैदेखि लाग्ने रहेछ।

उनी सचिव भएको अर्को वर्ष त हामी सब पक्राउ परिहाल्यौं। रामनाथलाई प्रहरीले गोली हानी मार्‍यो। मोहनचन्द्र भागेर भारत पसे । केपी पनि भागेर उहीँ पुगेछन्। दुई महिनापछि फर्केर नेपाल छिर्दा रौतहटबाट पक्राउ परे दुवै । उनीहरूलाई पनि केन्द्रीय कारागारमा ल्याइयो।

उसै पनि पिलन्धरे उनी, जेलमा ज्यादै बिरामी परे। अल्सर भयो, क्षयरोगले समात्यो। दुर्बल भएर उनी हिँड्न पनि राम्रो गरी सक्दैनथे।

तर, त्यस्तो समयमा पनि उनी जीवनप्रति आशावादी चाहिँ थिए। मलाई केही हुँदैन नै भन्थे। केपी अहिले निकै बिरामी छन्, तर पनि उनको त्यो जीवनप्रतिको भरोसा भने उत्तिकै छ, यो चाहिँ राम्रो पक्ष हो उनको । उनी निकै महत्त्वाकांक्षी मानिस हुन् उतिबेलै देखि, मैले जानेसम्म महत्त्वाकांक्षी मान्छेमा ज्यादा बाँच्ने इच्छा अरूमा भन्दा प्रबल हुन्छ । त्यसै कारण हुन्, उनी यस्तो अवस्थामा पनि अलिक छिट्टै तंग्रिएजस्ता देखिएका । तर, जेलमा हुँदा र अहिले तात्त्विक फरक के छ भने त्यतिबेला उनको उमेर थियो र उनका मुख्य अंगहरू सद्दे नै थिए। तर, अहिले उनको उमेर पनि धेरै छ, किड्नीजस्तो महत्त्वपूर्ण अंगले काम गरिरहेको छैन । यस्तोमा पनि उनी खटिन खोजिरहेका छन् र देश हाँक्न तयार देखिन्छन्।

जेलमा हुँदाका अप्ठेरा दिनमा पनि उनको स्वभाव यस्तै थियो। तिनताक जेलमा दिनको ६० पैसा र एक माना चामल दिन्थ्यो सरकारले। त्यति पैसामा गतिलो खान केही नपाइए पनि केपीलाई खान चाहिँ मिठो मसिनो पर्थ्यो। गान्टे मुलामा एक पाथी झोल हालेर हामी भात त्यसैसँग खान्थ्यौं। केपीलाई यस्तो खान मन पर्दैनथ्यो  गान्टे मुलालाई उनी हवल्दार भन्थे किनभने हवल्दार पनि उनलाई मन पर्दैनथ्यो।

जनमत संग्रह भएपछि जेलको सिदा ६० पैसाबाट बढाएर ३ रुपैयाँ पुर्‍याइयो । त्यसमाथि टीबीका बिरामीलाई दिनको सय ग्राम मासु पनि दिन थाल्यो । यसरी पैसा पनि बढेको र मासु पनि दिन थालेको स्थितिमा केपीले केही मिठो खान पाए। अनि उनी केही तंग्रिए पनि।

तिनताक दुई तीन वर्षमा मलाई घरबाट भेट्न मान्छे आउँथे र महिनाको डेढ सय नियमित पठाइदिन्थे। त्यतिका वर्ष जेलमा बस्दा ओलीलाई भेट्न कोही आएन, न कसैले रुपैयाँ पैसा नै पठायो । २०३६ सालमा अलि खुकुलो भएपछि मैले भाइलाई केपीका हजुरआमा लिएर आउन लगाएँ। नख्खु कारागारमा सारेको थियो त्यतिखेर हामीलाई। केपीलाई जेलमा देखेपछि उनी निकै रोएको मलाई अहिले पनि याद आउँछ । यस्तो अप्ठेरो जिन्दगी थियो केपीको । तर पनि उनी विचलित थिएनन्। जेल जीवनमा उनी पाएसम्मका पुस्तक पढ्थे। भन्थे, हामीले नै अबको राजनीति सम्हाल्ने हो, हामीले नै यो देश बदल्ने हो।

तर, समय अन्तरालमा केपी बदलिए। महाकाली सन्धिमा उनी माधवकुमार नेपालको पक्षमा उभिए। त्यसैबेला उनलाई राजनीतिमा अघि बढ्ने हो भने संगठन र पैसा चाहिन्छ भन्ने बोध भएछ। त्यसपछि उनी अलिक गुटरउपगुट बनाउनतिर लागे। हुँदाहुँदा पार्टीको अध्यक्ष बने। अहिले त माओवादीलाई समेत मिसाएर उनी सबको मूली भएका छन्। यस्तो अनुकूलता नेपालमा कुनै राजनीतिज्ञ वा कुनै लोकतान्त्रिक शासकले पाएको थिएन। यस्तो बेला उनले विकास त भटाभट गर्न सक्नुपर्ने हो। तर, अपेक्षाअनुसार केही हुन भने सकिरहेको छैन । यसबाट जनता निराश छन्, उनको छवि पनि काम खासै नगर्नेका रूपमा बन्न लागेको छ। यसलाई रोक्ने हो भने केपीले आफ्नो कार्यशैली बदल्नैपर्छ।

प्रकाशित मिति: १९ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्