सीमा नाकामा चीनको शंकास्पद गतिविधि,सेनाले लेख्यो रक्षा मन्त्रालयलाई पत्र


 


काठमाडाैँ, पुस २३
उत्तरी सीमा क्षेत्रमा रहेको छिमेकी देश चीनको नेपालमा शंकास्पद गतिविधि बढेको छ। पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा चीनको शंकास्पद गतिविधि बढेकोप्रति सुरक्षाकर्मीहरुले चासो ब्यक्त गरेका छन्। सीमामा चीनद्वारा शंकास्पद गतिविधि बढेपछि नेपाली सेनाले गम्भीर चिन्ता व्यक्त गरेको छ।

तीन वर्षअघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध २४० किलोवाटको सौय उर्जा सोलार बत्ती सञ्चालनमा छ। सोही सौर्य उर्जा बत्तीको प्राविधिक मर्मत भन्दै कोरलानाकास्थित चिनियाँ सुरक्षाकर्मी बर्सेनि दर्जनौंपटक लोमान्थाङ आउने बाटो बनेको छ।

नेपाल र चीनबीच भएको सम्झौताको उल्घंन गर्दै चिनियाँ सुरक्षाकर्मीहरुले उक्त सौर्य उर्जा प्यानलको मर्मतकोे बहानामा लोमन्थाङको बारम्बार भ्रमण अनुगम गर्ने गरेको छन्। सम्झौता अनुसार चीनले सन् २०२५ सम्ममा ऊर्जा प्यानलको मर्मत गर्ने कार्य गर्न सक्दछ।
त्यस्तै चीनले कोरला सीमा नाका तिब्बतीय क्षेत्रमा कस्टम अफिस पोष्ट निर्माण गर्दैछ। त्यसैगरी चीनले निर्माणस्थलको सुरक्षाको लागि सशस्त्र प्रहरी (पीएपी) फौज खटाएको छ।

अन्तर्राष्ट्रिय सिमानाबाट ३० किलोमिटर भित्र कुनै सैन्य र अर्धसैनिक बल परिचालन नगर्ने सम्झौताको खण्डन गर्दै चीनले अन्तर्राष्ट्रिय सिमानामा आफ्नो सैन्य बल परिचालन गरेको छ। सम्झौता सन् २००७ सेप्टेम्बर २४ मा गरिएको थियो।

पीएपी एक चीनियाँ अर्धसैनिक प्रहरी बल हो जुन आन्तरिक सुरक्षाको लागि जिम्मेदार छ जुन युद्ध समयमा पीएलए ग्राउन्ड फोर्सलाई सहयोग प्रदान गर्दछ।

चिनियाँ सुरक्षाकर्मी भने नेपालपक्षसँग कुनै खास काम नभए पनि सोलारको प्राविधिक मर्मत गर्ने बहाना बनाएर लोमान्थाङसम्म आउने गरेको जनाइएको छ। पछिल्लो समय हिमालपारीको जिल्ला विदेशी राष्ट्रहरूको कुटनीतिक अभ्यास गर्ने थलोको रूपमा विकास भइरहेको छ। एक दशकअघि अमेरिकी हिमालयन फाउन्डेसनले लोमान्थाङमा माइक्रो हाइड्रो सञ्चालनमा ल्याएको थियो। हाइड्रो सञ्चालनमा रहेकै अवस्थामा चिनियाँ सरकारले सौर्य उर्जा सोलार जडान गरेपछि माइक्रो हाइड्रो बेवारिसे बनेको छ।

मुस्ताङका ५ वटै स्थानीय तहमा अमेरिकी सहयोग नियोग र भारतीय राजदूतावासको सहयोगमा शैक्षिक संस्था, स्वास्थ्य र पूर्वाधार विकासमा लगानी गरिरहेको पाइन्छ। अनुगमनका नाममा विदेशी कुटनीतिक नियोगका व्यक्ति मुस्ताङको विभिन्न प्रकारका अध्ययन र उत्तरी नाकाको गतिविधिको जानकारी हाँसिल गर्ने गरेको पाइएको छ। कोरलानाकामा चीन सरकारले अत्याधुनिक क्षमताको सीसी क्यामेरा राखेको छ।

चीनको स्वशासित क्षेत्र तिब्बत भएकाले चीनविरोधी गतिविधि हुन सक्ने भन्दै चिनियाँ सुरक्षाकर्मीले कामको बहाना बनाएर लोमान्थाङ आउजाउ गर्ने गरेको पाइएको हो। चिनियाँ पक्षका सुरक्षाकर्मी जुनसुकै अवस्थामा कामको बहाना बनाएर नेपाल प्रवेश गरे पनि नेपाली पक्षलाई व्यापार मेलाबाहेक अन्य समय कुनै पनि अवस्थामा प्रवेश पाउने अवस्था छैन।

तर यसरी सीमा नाकामै उनीहरु तैनाद भएर पछिल्लो समय शंकास्पद गतिविधि गरिरहेका छन्। चीनको शंकास्पद रवैयालाई देखेर सेनाले रक्षा मन्त्रालयललाई सचेत गराएको छ। रक्षा मन्त्रालयलाई प्रतिवेदन लेख्दै सेनाले कोरालामा पुलिस चौकी स्थापना गर्न सिफारिस समेत गरेको छ। उपल्लो मुस्ताङको लोमान्थाङ बजार कोरला नाकादेखि दक्षिण २५ किलोमिटर वर पर्दछ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्