नेपाली फुटबल टोलीका प्रशिक्षकलाई नेपाल प्रवेशमा रोक, एक वर्ष प्रतिबन्ध


 


काठमाडौं, साउन १८
गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। ‘ओभर स्टे’ को आरोपमा गृहमन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो । अन्नपूर्णमा खबर छ ।

अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको छ।

कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन्। कोजी शुक्रबार जापान फिर्ता हुँदैछन्।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो।

उनी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए। एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ। कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए।

कुनै पनि विदेशी नागरिक एक भीसा वर्षेमा १ सय ५० दिन मात्र पर्यटक भीसामा नेपाल बस्न पाउँछन्। कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए।

अध्यागमन ऐनको बर्खिलाप गर्दै कोजी ९ दिन ‘ओभर स्टे’ बसेको स्रोतले जनाएको छ। अध्यागमन नियमावली २०५१ मा पर्यटकलाई एक भीसा वर्षमा बढीमा पाँच महिनाका लागि मात्र भीसा दिइने उल्लेख छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजी एएफसीको प्रोडिप्लोमा लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनी सन् २००८ देखी २००९ सम्म भुटानको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक भएका थिए।

जापानी राष्ट्रिय टोलीका पूर्व खेलाडी कोजीले सन् १९८७ देखी १९८९ सम्म जर्मन क्लबबाट फुटबल खेलेका थिए। कोजीले प्रशिक्षण सम्हालेको दुईवर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीले खासै उपलब्धी हात पार्न सकेको छैन।

प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्