वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्न नेपाली टोली घोषणा, आरिफ समावेश


 


काठमाडौँ, वैशाख १३ । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ ।

एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो ।

युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा भने वैकल्पिक खेलाडीको भूमिकामा थिए ।

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ ।

५ खेलको टि२० सिरिज वैशाख १५ गते शनिबारदेखि सुरु हुँदैछ । दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल १९ गते, चौथो खेल २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव र आकाश चन्द समावेश छन् ।

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्