पानीमा विषादी प्रकरण : विरामी बिद्यार्थीहरु बिद्यालय जान थाले


 


विराटनगर, भदौ ३

विषादी मिसाएको पानी खाएर बिरामी परेका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आजदेखि विद्यालय जान थालेका छन् ।

उपचार गराएर स्वास्थ्य अवस्था ठिक भएपछि विद्यार्थी विद्यालय आउन थालेको प्रधानाध्यापक खेमराज दुलालले बताउनु भयो । गत मंगलबार विद्यालयको खानेपानी ट्यांकीमा किटनाशक औषधि हालेको पत्ता लागेको थियो । विषादी हालेको पानी पिउँदा २८ जना विद्यार्थी बिरामी परेका थिए । उनीहरुको उर्लाबारी स्थित मंगलबारे अस्पताल र विराटनगर स्थित नोवेल मेडिकल कलेज तथा लाईफगार्ड अस्पतालमा उपचार गरिएको थियो ।

विषादी हालेको पानी पिउँदा विद्यार्थी बिरामी परेपछि विद्यालयमा पठन पाठन अनिश्चित कालका लागि बन्द गरिएको थियो । आजबाट विद्यालय संचालन गरिएको दुलालको भनाइ छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म चार सय ९१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको खानेपानी ट्यांकीमा विषादी हालेको लामो समय भइसक्दा पनि घटनाका दोषीको भने पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको छानविन र अनुसन्धानका लागि भनेर मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाको नेत्रृत्वमा पाँच सदस्यीय छानविन समिति पनि गठन गरेको छ ।

डीएसपी थापाले प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहे पनि दोषीको पहिचान भने भइनसकेकेको बताउनु भयो । ‘मानविय क्षति पुर्याउने हिसावमा गरिएको यत्रो ठूलो घटनाका विषयमा सबै कोणबाट अनुसन्धान गरिरहेका कारण ढिलो चाँडो दोषी पत्ता लगाएरै छाडिने उहाँको भनाइ छ ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्