महानगर रोजगार मेला सुरु, सफाई कर्मचारीदेखि सहायक सिईओसम्मको माग


 


विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ ।

महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए ।

मागमध्ये ३ सय ९२ जनाका लागि रोजगारीसमेत सिर्जना भएको उनले बताए । महानगरले रोजगारदाता र रोजगारीको खोजीमा रहेको जनशक्तिलाई जोड्ने उद्देश्यले पहिलोपटक रोजगारी मेला आयोजना गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताए । मेलाबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रह गरे ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले रोजगार मेलाले बजारमा कस्तो जनशक्ति आवश्यक छ र श्रमबजारमा कस्ता जनशक्ति छन् भन्ने विषय पनि प्रस्ट हुने बताए । उनले मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने काम गरेको चर्चा गरिन । “महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक हुने मैले विश्वास लिएको छु,” उनले भनिन्, “आफ्नो क्षमताअनुसारको रोजगारी नेपालमै पनि प्राप्त गर्न सकिन्छ भन्ने यस मेलाबाट पुष्टि हुनेछ ।”

कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रकुमार साह, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले महानगरले आयोजना गरेको रोजगारी मेलाबाट अन्य पालिकाका लागि पनि सिकाई हुने बताए । दुई दिनसम्म सञ्चालन हुने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश छन् ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्