मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त


 


हेटौँडा, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गर्नुभएको हो । एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उहाँलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्र को २१, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् ।

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाउनुभएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो । नेपाल कम्युनिष्ट पार्टी एकीककृत समाजवादीलाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ ।

यसअघि पहिलोपटक एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

सङ्घ सरकारमा समीकरण परिवर्तनसँगै उहाँले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिनुभएको थियो । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने बताउनुभएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्