कैलालीमा ऐनविपरितका सूतिजन्य पदार्थ, अनुगमन थालिएपछि लुकाइँदै


 



धनगढी, माघ ८
कैलालीमा सूर्तिजन्य पदार्थ नियमनका लागि जिल्ला सूर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले बजार अनुगमनलाई तीब्रता दिएको छ ।

समितिले अनुगमनलाई तीब्रता दिएपछि चेतावनीमूलक सन्देश नभएका वा मापदण्ड विपरित उत्पादन र प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थ लुकाउन थालिएको छ ।

बजारमा कानुन विपरीतका सूर्तिजन्य पदार्थको बिक्री–वितरण बढेको गुनासो आएपछि समितिले थालनी गरेको अनुगमनका क्रममा यस्तो तथ्य भेटिएको हो । यसअघि गएको विहीबार समितिले भण्डारी ब्रदर्श डिलरबाट ऐनविपरीत उत्पादन गरिएका ६ सय ५२ बोरा मेघा श्री नाम गरेका गुट्खा फेला पारेको थियो ।

अनुगमन समितिले सो डिलर सिल गर्नुका साथै आवश्यक कारबाहीका लागि प्रक्रियासमेत सुरु गरिसकेको छ । मेघा श्रीको डिलरमा छापा हानेर ऐन विपरितका सूूर्तिजन्य पदार्थ (गुट्खा) बरामद गरेपछि अन्य कम्पनीहरुले चेनावनीमुलक सन्देश नलेखिएका गट्खाहरु लुकाएका छन् ।

अनुगमन समितिले सबै कम्पनीले कानुन विपरीतका सूर्तिजन्य पदार्थको बिक्री–वितरण बढेको गुनासो आएपछि अनुगमन थालेको थियो । बजारमा पनि शुद्ध प्लसलगायतका खुट्खाहरुमा पनि कैफियत भेटेको अनुगमन समितिले मंगलबार भने ती डिलरहरुमा भने त्यस्तो फेला पार्न सकेन । अनुगमनको चाल पाएपछि केही व्यापारीले पसल नै बन्द गरेका छन् ।

अनुगमनमा संलग्न एक सदस्यले भन्नुभयो, ‘शुद्ध प्लस नामक गुट्खामा पनि कैफियत रहेको छ । तर, हामीले गोदाममा जाँदा पोका नै भेटेनौं ।’ बजारमा बिक्रीमा राखिएको शुद्ध प्लसको पनि अगाडि भाग पूरै गुट्खाको नामले रंगिन गरिएको छ भने पछाडि भागको आधामा मात्र जनचेतनामूलक सन्देश राखिएको छ ।

उहाँकाअनुसार अनुगमनमा आएको पूर्वजानकारी पाएर व्यापारीहरु पसल नै बन्द गरेर पनि भाग्ने गरेका छन् । समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले पनि अनुगमन जारी रहेको बताउनुभयो । उहाँले सम्पूर्ण पसलको अनुगमन गरि कहाँ–हाँ र के–के कैफियत भेटियो भन्ने आधारमा संलग्न व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरिने बताउनुभयो ।

उहाँका अुसार उत्पादक कम्पनी, वितरक, बिक्री–वितरण गर्ने पसलको विवरणको आधारमा प्रतिवेदन तयार गरिनेछ । सरकारी वकिलको रायसहित अघि बढी मुद्दा दर्ता गरिने उहाँको भनाई छ । मुद्दा दर्ता भएपछि प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही प्रक्रिया अगाडि बढाइने छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद ३ मा सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री–वितरणको बुँदा ९ मा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

सोही ऐन कार्यान्वयनका लागि बनाइएको निर्देशिकामा यस्ता उत्पादनमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश सहितको चित्र छाप्नुपर्ने व्यवस्था रहेको छ । तर, मेघा श्रीमा उक्त व्यवस्थाविपरीत निकै कम मात्रामा चेतावनीमूलक सन्देश छापिएको छ ।

कैलालीकै लम्की चुहामा रहेको देउती गुट्खा इन्डस्ट्रिजले मेघा श्री नामक गुट्खा (सूर्तिजन्य पदार्थ) उत्पादन गर्दै आएको छ । सो गुटखाको एक प्याकेटको अगाडि भागमा ठूलो अक्षरले गुट्खाको नाम, बनेको मिति, कम्पनीको नाम लगायतका कुरा उल्लेख छन् भने पछाडि ‘सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ’ भन्ने जनचेतनामूलक सन्देश, रंगिन चित्र राखिएको छ ।

६ सेन्टिमिटर लामो प्याकेटको आधा भागमा मात्र सचेतनामूलक सन्देश उल्लेख गरिएको पाइएको अनुगमनमा संलग्न टोलीले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्