प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनको प्रश्न – मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?


 


काठमाडौं, चैत्र ८
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार राजधानीमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने एक युवालाई बोल्न नदिनका लागि प्रहरीले मुख थुनेको तस्बिर भाइरल भएपछि अध्यक्ष लिङ्देनले पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’, उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।

उनले चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन प्रचण्डसँग माग गरेका छन् । ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन,’ उनले भने,’जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ ।’

प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्