मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?


 


काठमाडौं, चैत्र १३
अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेस गरेका छन् ।

न्यायपालिकाका प्रमुखका रुपमा रहने प्रधानन्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले गैर सरकारी विधेयकका रूपमा राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभामा पेस गरेका हुन् ।

यसअघि गृह मन्त्रालयले सूचनामार्फत विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम राजपत्रमा प्रकाशित गर्दै आएको थियो । मन्त्रालयले २०७६ वैशाख १६ मा पछिल्लो पटक मर्यादाक्रम सार्वजनिक गरेको थियो ।

हाल कायम रहेको मर्यादाक्रममा पहिलोमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ ।

राष्ट्रियसभाका सांसदहरूले अघि बढाएको विधेयकमा सभामुख र राष्ट्रियसभाका अध्यक्षभन्दा तल प्रधानन्यायाधीशलाई राखिएको छ । न्यायपालिका (प्रधानन्यायाधीश) लाई भइरहेको मर्यादा क्रमको स्थानभन्दा तल झारेको विषयमा सार्वजनिक रूपमा टिप्पणी भइरहेका छन् ।

यदि विधेयक जस्ताको तस्तै संघीय संसद्बाट पारित भए न्यायपालिका प्रमुख मर्यादाक्रममा सभामुख र राष्ट्रियसभाका अध्यक्षभन्दा तल रहनेछन् । नागरिक दैनिकबाट

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्