नेपाल वायुसेवा निगमको ५६ सिट क्षमताको नयाँ जहाज काठमाडाैंमा अवतरण


 


काठमाडौँ, माघ १३

नेपाल वायुसेवा निगमको नयाँ जहाज एम—६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कशाङ्कारले कुल ५६ सिट क्षमताको चिनियाँ जहाज विमानस्थलमा अवतरण भएको जानकारी दिनुभयो ।

आज साँझ ७ः१५ बजे अवतरण भएको जहाजको नाम ‘फेवा’ राखिएको छ । नयाँ जहाजको कलसाइन ‘नाइन एन एकेआर’ दिइएको छ । नेपाली चालकले नै बङ्गलादेशको ढाकाबाट उडाएर जहाज काठमाडौँ ल्याइएको हो ।

विमानलाई भव्यताका साथ विमानस्थलमा स्वागत गरिएको महाप्रबन्धक कंशाकारले जानकारी दिनुभयो । जहाज अवतरण हुनेबित्तिकै पानीको फोहोराले स्वागत गरिएको थियो ।

स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी एवम् निगमका उच्च अधिकारी विमानस्थल पुगेका थिए ।

चिनियाँ पक्षले जहाजको पाटपूर्जा एवम् प्राविधिक उपकरण काठमाडौँमा नै उपलब्ध गराउने सहमति गरेपछि निगमले चिनियाँ जहाज ल्याउने निर्णय गरेको हो । एम ६० जहाज बढी यात्रु हुने स्थानमा नै उडाउने निगमको तयारी छ ।

सो जहाज आएलगत्तै निगमको आर्थिक पक्षमा समेत सुधार आउने विश्वास लिइएको छ । अर्को वाई १२ विमान भने केही दिनभित्रै अवतरण गर्नेसमेत महाप्रबन्धक कंशाकारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्