९० साल खेप्ने हजुर आमाको नौलो अनुभव


 


hajuraamaचीना थापा / मानेगाउँ नुवाकोट

डा. विना प्रधानसँग जेठ ४ गते बिहान म नुवाकोट तर्फ लागे । महाभूकम्पको २४ औँ दिन हामी नुवाकोटको मनकामना गाविस वडा नं. २ मा पर्ने माने गाउँमा पुग्यौँ । बाटोमा जाँदै गर्दा मेरा आँखा बाहिर मात्रै थिए । सडक छेउछाउका धेरै घर भत्किएका थिए । अन्य चर्केका देखिन्थे । विभिन्न जिल्ला तथा गाउँमा राहत बोकेर हिडेका ट्रक पनि बाक्लै भेटिन्थे । राहत पाइएन भन्ने गुनासा पनि गाडीको झ्यालबाट सहजै हाम्रा कानसम्म आइपुग्थ्यो।

विदुरबाट झन्डै एक घण्टा भन्दा बढीको यात्रापछि हामी नुवाकोटको माने गाउँ पुग्यौँ । बाटो अप्ठ्यारो भएका कारण विस्तारै गयौँ । जब हामी माने गाउँको सूर्यमान तामाङको घरमा पुग्यौँ । सूर्यमानको आँगनमा पुगेर रोकिने बित्तिकै झ्यालबाट एक जना लौरो टेक्दै हिडिरहनुभएकी हजुरआमालाई गाडीको झ्यालबाटै देखे।

डा. विनाभन्दा अगाडि गाडीबाट झरेर मैले झटपट यी हजुरआमाको हिडिरहेको फोटो खिच्न थालेँ । म फोटो खिच्दै थिएँ । हजुरआमा हिडिरहेकी थिइन्। छोराको घरबाट हिडेकी हजुरआमा नातिको घरमा आएर थचक्क गुन्द्रीमा  बसिन् । म पनि उनीसँगै छेउमा बसे ।
हजुरआमा कत्ति वर्ष हुनुभयो ? उत्तर आयो– ‘म १९९० सालको भुँइचालो जाँदा १५ वर्षकी थिएँ।’  त्यसपछि हजुरआमाले आफ्नो अनुभव क्रमशः सुनाउन थालिन्।

‘१९९० सालको भुइँचालो जाँदा हामी जंगलमा घाँस काट्न गएका थियौँ । जंगलमै अलिअलि हल्लायो । भुइँचालो रोकिएपछि घाँसको भारी लिएर घरमा आयौँ । घरमा पनि केही भएको थिएन । अनि भोलिपल्ट एक पटक हल्लाएको जस्तो लाग्यो । त्यसपछि मैले त थाहा पाइनँ।
त्यसपछिका वर्षहरुमा पनि धेरै पटक भुइँचालो आयो । तर, यस्तो विनाश गरेको थिएन् । हामीले आजभन्दा ५० वर्ष अगाडि एक सय रुपैयाँमा बनाएको घर अहिलेसम्म केही भएको थिएन् । यो वर्षको भुइँचालोले लग्यो । यति धेरै मान्छे मार्ने र सबैको घर भत्काउने भूत आयो यसपालि त!

हजुरआमा अझै अगाडि बढिन । डा. विना पनि हजुरआमाको अनुभवमा चासो  दिँदै थिइन् । म झन् उनले नयाँ कुरा भन्लिन् कि भनेर चनाखोका साथ सुन्दै थिएँ ।

‘खाना खाएर दलानमा निस्केकी मात्र के थिएँ। फेरि घर पुरै हल्लियो । अब परिने भयो भनेर दलानको थाम समाएर बसिरहेँ । अब म बाँच्छु जस्तो लागेन् । हेर्दाहेर्दै घर भत्कियो । आत्तिदै नातिले बोकेर तल चौरमा लग्यो । फेरि हल्लायो । यसरी हल्लाएको त थाहा थिएन् । ९७ नब्बे वर्षको उमेरमा यस्तो भोग्नुपर्यो ।’

‘आँखा अगाडि धेरै घरहरु भत्किए । गाउँका धेरै मरे । यो बुढेसकालमा आफू मर्ने बेलामा भर्खरका छोरानाति, छोरी बुुहारी र नातिनीहरु मरेको सुन्दा म चाहिँ किन बाँचे जस्तो लाग्यो । अहिले त सबै सिध्याउने भूत नै आएछ जस्तो लाग्यो ।’

‘यत्रो उमेर भयो यस्तो विपत्तिको सामना मैले गरेको थिइन् । अलिअलि सानो कम्पन त आइरहन्थ्यो । अहिले सम्म यस्तो गरी पालमुनि बस्नुपरेको थिएन् । मर्ने बेलामा अनेक दुख भोग्नुपरो यो भुइँचालोले गर्दा । घरमा बसौँ भने सकिँदैन् । छोराले घरको जस्ता झिकेर र पाल टाँगेर बस्ने ठाउँ बनाएको छ । दुःखसुख गरेर त्यहीँ बसेका छौँ ।’

हजुरआमाले हाँस्दै भनिन्– ‘अब त रोकियो होला भन्यो । फेरि–फेरि आउँछ । भुइँचालो आएको बेला जे भेट्यो त्यसैलाई च्याप्प समाएर बसेँ । मर्ने बेलामा पनि मर्न डर लाग्दो रहेछ । बुढेसकालमा पनि डराई–डराई बस्नुपर्ने।’
आफ्नो अनुभव तथा भुइँचालोबारे हामीलाई सुनाउँदै गर्दा ९७ वर्षीया हजुरआमाको अनुहारमा बेलाबेलामा हाँसो देखिन्थ्यो भने बेलाबेलामा मलिन हुन्थ्यो ।

‘अब त भुइँचालो आउँदैन् होला है, नातिनी’ उनले मलाई प्रश्न गरिन्। एक छिन त म चुपचाप रहेँ । ‘आउँदैन् अब, आए पनि सानो–सानो आउँछ, यस्तो विनासकारी आउँदैन् । ‘त्यसो भए त राम्रै भयो । यता त अब फेरि ठूलो आउँछ भन्छन् । त्यही भएर नातिनीलाई सोधेको’, हजुरआमाले कुरा अगाडि बढाइन् ।

‘यो मैले बोलेको कुरा अनि मेरो फोटो केमा आउँछ ?’ हजुरआमाले मलाई प्रश्न गर्न थालिन् । मैले उत्तर दिँदै जाँदा हजुरआमाले झन्झन् प्रश्न गर्दै गइन्। मैले भनेँ– ‘हजुरको अनुभवलाई हामीले यहाँबाट लेखेर लगेर फोटो सहित अरुले पनि पढ्न सक्नेगरी राख्छौ ।’

९७ औँ वसन्त पार गरेकी हजुरआमामा कुरा गर्ने जोश देख्दा, अनि हामीलाई सोधेको प्रश्न पढेलेखेको मानिसकै जत्तिको थियो। उनले भनिन्, ‘मलाई त बोल्न आउँदैन् । के के बोलेँ । आफूले भोगेको भने । मिलाएर लेख्दिनू ल ।’

हजुरआमाका कुरा सुनेर डा. विना पनि अचम्म परिन् । ९७ औँ बसन्तमा रहेकी हजुरआमालाई देख्दा र सुन्दा आनन्दानुभूति भयो । कुरा सुन्दासुन्दै लागेको भोक र थकाइ हटिसकेको थियो । हजुरआमालाई भेटिसकेपछि लाग्यो– भविश्यमा हामीले पनि यसपालिको भुइँचालो अनुभव हाम्रा भावी सन्ततिलाई यसै गरी भन्छौं।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्