भारतीय आठ पर्यटकको मृत्यु, तातो भएन भन्दै हिटर मागेका थिए


 



हेटौंडा, माघ ८
नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाल घुम्न आएका आठ जना भारतीय नागरिकको निस्सासिएर मृत्यु भएको छ । काठमाडौं, पोखरालगायतका स्थान घुमेपछि मकवानपुरको सिमभञ्ज्याङ, दामन, पालुङलगायतका पर्यटकीय स्थल घुम्ने क्रममा भारत केरलाका एकै परिवारका सदस्य र आफन्तसहित आठ जनाले ज्यान गुमाएका छन् ।

प्रारम्भिक अनुसन्धानमा पर्यटककै असावधानीका कारण दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । होटलको कोठामा हिटर प्रयोग गर्दा गुम्सिएर ज्यान गएको प्रारम्भिक अध्ययनले देखाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता ललनप्रसाद कुर्मीले जानकारी दिए ।

इलेक्ट्रिक ओछ्यान हुँदाहुँदै पर्यटकले तातो भएन भन्दै हिटर मागेपछि होटलले दिएको अनुसन्धानमा देखिन आएको उनले बताए । सबै झ्याल ढोका बन्द गरेर हिटर प्रयोग गर्दा ज्यान गएको अनुमान प्रहरीको रहेको छ ।

राति अबेरसम्म रमाइलो गरेका उनीहरूमध्ये एउटै कोठामा आठ जना सुतेको प्रहरीले जनाएको छ । मंगलबार बिहान ९ बजेसम्म नउठेपछि सँगै गएका साथीहरूले कोठा फोरेर उनीहरूलाई बेहोस अवस्थामा निकालेका थिए । उनीहरूको टोलीमा १५ जना थिए । सबै बेहोस अवस्थामा फेला पारेपछि होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि होटल व्यवस्थापन, प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा हेलिकोप्टर मगाएर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्यु भएका ८ जनामध्ये ४ जना बालबालिका रहेका छन् ।

मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, पाँच वर्षीया अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा कप रहेका छन् ।

उनीहरू बा३क ३६८८ नम्बरको बस भाडामा लिएर नेपालका विभिन्न स्थान घुम्दै दामन आएको प्रहरीले जनाएको छ । होटलमा चारवटा रुम बुक गरे पनि सात जना दुईवटा रुममा र उनीहरू आठ जना एउटै रुममा सुतेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्