आगो फुक्ने ढुङ्ग्रो प्रहार गरी हत्या, एक घाइते


 



धादिङ, माघ ८
उत्तरी धादिङको दार्खामा मंगलबार फुक्ने ढुङ्ग्रोले प्रहार गरी एकजनाको हत्या भएको छ । ढुङ्ग्रो प्रहारबाट खनियाँबास गाउँपालिकास्थित दार्खाको घ्याङ्साका सन्ते भनिने सन्त तामाङको ज्यान गएको हो ।

ढुङ्ग्रो प्रहारबाट रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारको लागि काठमाडौं लगिएको छ । घटनामा सङ्लग्न रहेको आरोपमा नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

दार्खामा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा भएको विवादले उग्ररुप लिएपछि यो घटना भएको प्रहरीले जनाएको छ । पक्राउ परेका रोशन तामाङ र राम तामाङ फुटबल प्रतियोगिताको रेफ्री समेत रहेको र आफ्नै दाजुभाइ रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्