जब ‘महाराज’ विमानस्थलको भीआईपी कक्षमा देखिए


 


काठमाडौँ , माघ ८
गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) बाहिर एक हूल मानिसको चहलपहल थियो । कोहीको हातमा फूलको बुके थियो भने कसैको हातमा खादा ।

सामान्यतया सुरक्षाको कारण जनाउँदै भीआईपी कक्षबाहिर प्रहरीले सर्वसाधारणलाई जम्मा हुन दिँदैन । तर त्यहाँ आफूलाई गुरु बताउने कालिदास महाराजलाई बिदाइ गर्न उनका अनुयायी भेला भएका थिए । एकैछिनमा कालिदासका निम्ति भीआईपी कक्षको ढोका खोलियो । कालिदासलाई भित्र लैजान एसएसपी रामकृपाल शाह र केही डीएसपीसमेत खटिएका थिए ।

२०७१ साउन ५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ । जसअनुसार आफूलाई महाराज बताउने कालिदास भीआईपी कक्ष प्रयोग गर्न पाउने सूचीमा पर्दैनन् । कान्तिपुरलाई प्राप्त केही तस्बिर कालिदास भीआईपी कक्ष प्रवेश गरेलगत्तै महानगरी प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल पनि विमानस्थल पुगेको देखिन्छ ।

स्रोतका अनुसार डीआईजी पोखरेलले कालिदासको भीआईपी कक्ष प्रयोग गर्न समन्वय गरेका थिए । दुई श्रीमती विवाह गरेका र बारम्बार अनेकन विवादमा तानिएका कालिदास गणतन्त्र स्थापनापछिका केही वर्ष गुमनाम थिए । जनआन्दोलनअघिसम्म उनी दरबारनिकट थिए । उनी आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निकट बताउँछन् । राजतन्त्र फेरि फर्कन सक्ने बताउँदै उनले पछिल्लो समय बेलाबखत विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएको देखिन्छ । ओखलढुंगा घर भएका कालिदास शाहीकालमा हिन्दु राष्ट्र स्थापना गर्ने भन्दै यज्ञ र होम लगाउँदै हिँड्थे । २०६६ सालमा उनले हिन्दु धर्मका विभिन्न खेमाका धर्मभीरुलाई जम्मा पारेर पशुपतिको वनकालीमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरेका थिए ।

शाहीकालमा उनी दरबारको कति निकट थिए भन्ने उनले आयोजना गर्ने धार्मिक अनुष्ठानमा तत्कालीन राजा ज्ञानेन्द्र र तत्कालीन राजपरिवारका सदस्यको उपस्थितिले बुझाउँछ । ज्ञानेन्द्रको शासनकालमा उनले राजशत्रु नाश गर्ने भन्दै नागार्जुन दरबारमा एक हजार एक सय किलो खुर्सानीको होम मात्रै गरेनन्, राजाको भाकल पूरा गर्न हेलिकप्टर चढेर कैलाश मानसरोवरसमेत पुगे ।

विमानस्थलको सुरक्षा कमान्ड सम्हालिरहेका एसएसपी शाहले विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले भीआईपी कक्ष प्रयोग गर्न अनुमति दिएपछि आफूहरूले सहयोग गर्ने गरेको बताए । उनले कालिदासको हकमा पनि प्राधिकरणले अनुमति दिएको बताए । कालिदासलाई लिन भीआईपी कक्षमा एसएसपीको उपस्थितिलाई भने उनले नियमित कामको संज्ञा दिए । उनले ढोकामा फूलगुच्छा लिएर नबसेको प्रस्ट्याउँदै भने, ‘नियमित घुमिरहेका बेला भीआईपी कक्षमा कोही आउने रैछन् भने नमस्ते, जय नेपाल र ढोगभेट गर्नुपर्ने भए गर्नेमात्रै हो । महाराजले किन र कसरी अनुमति पाए प्राधिकरणलाई सोध्नुस् ।’

विमानस्थलको व्यवस्थापन हेर्ने नागरिक उड्डयन प्राधिकरणका निर्देशक उत्सव खरेलले कालिदासलाई भीआईपी कक्ष प्रयोग गर्न अनुमति दिइएको बताए । राजपत्रमा बहालवाला र पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्यलगायतले भीआईपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ । पर्यटन मन्त्रालय वा विदेशीका हकमा परराष्ट्र मन्त्रालयको पत्रका आधारमा पनि भीआईपी कक्ष प्रयोग गर्ने अनुमति दिइन्छ ।

निर्देशक खरेलले कालिदासलाई केका आधारमा भीआईपी कक्ष प्रयोगको अनुमति दिइएको हो भनेर यकिन भन्न सकेनन् । उनले भने, ‘अपवादका घटनामा मौखिक निर्देशनका आधारमा पनि अनुमति दिइएको हुन्छ । तपाईंहरूले पनि बुझिरहनुभएको हुन्छ नि भनसुनका आधारमा कहिलेकाहीँ हुन्छ,’ उनले भने ।

कालिदासलाई भीआईपी कक्ष प्रयोग गर्न दिनु भन्नेबारे मन्त्रालयबाटै पत्र आएको उनले बताए पनि कुन मन्त्रालय भन्नेमा आफू यकिन नभएको बताए । थप प्रश्नपछि उनले उल्टै सोधे, ‘किन तपाईं यसैको पछि लाग्नुभएको छ ? उहाँले भीआईपी कक्ष प्रयोग गर्नुभएको त हो । त्यसमा कुनै मन्त्रालयबाट पत्र आयो कि भनसुनका आधारमा हो भन्ने कुरा सामान्य हो । पत्र नै आएको हो कि होइन यसै भन्न सकिन्न ।’

विमानस्थल स्रोतका अनुसार अपवाद भनिए पनि उच्च पदस्थ अधिकारीका आफन्त र नातागोताले पनि शक्ति दुरुपयोग गर्दै भीआईपी कक्षको प्रयोग बारम्बार गर्ने गरेको देखिन्छ । त्यसो त २७ कात्तिकमा संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरूले पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष विमानस्थलका कर्मचारीहरूले आफूहरूमाथि हेपाहा व्यवहार गरेको बताउँदै भीआईपी कक्ष प्रयोग गर्न नपाएको गुनासो गरेका थिए । जवाफमा मन्त्री भट्टराईले आफूले पनि मन्त्री हुनुअघि विमानस्थलको भीआईपी कक्ष प्रयोग नगरेको बताउँदै भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न सांसदहरूलाई आग्रह गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्