खुला गाँजा खेती माग्दै संसद्मा दर्ता भयो विधेयक


 


काठमाडौं, फागुन १९

संघीय संसदमा पहिलो पटक गैर–सरकारी विधेयक दर्ता भएको छ।


पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सोमबार संघीय संसदमा दर्ता गराउनुभएको हो । सामान्यतया सरकारले विधेयकहरु ल्याउने प्रचलन छ। तर, सांसदहरुले विधेयक ल्याउन सक्ने व्यवस्था छ। त्यस्तो विधेयकलाई गैर–सरकारी विधेयक भनिन्छ।

बहुदल प्राप्तीपछिका धेरै संसद अधिवेशन र संविधानसभाको अवधिमा पनि यस्ता धेरै गैर(सरकारकी विधेयक दर्ता भएका थिए। तर, नेपालको संसदीय इतिहासमा पारित भएका गैर–सरकारी विधेयकको संख्या भने धेरै छैन। हालसम्म नेपाल कानुन व्यवसायी परिषद् ऐन, ०५०, स्वास्थ्य व्यवसाय परिषद् ऐन ०५३ र मानवअधिकार आयोग ऐन, ०५३ मात्रै पारित भएका छन्, जुन गैर(सरकारी थिए।

विधेयक दर्ता गरेपछि शेरबहादुर तामाङले गाँजा खेती गरेर नेपाली किसानहरु धनी बन्न सक्ने बताउनुभयो । ‘अब पनि गाँजा खुला नगर्ने हो भने नेपाली पछि पर्नेछन्’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्