अर्थमन्त्रीमा खतिवडाको पुनःनियुक्ति


 


काठमाडौं, फागुन २१
प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको हो ।

खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुग्नुभएको थियो । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।

खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिने कार्यक्रम छ ।
राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनित कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ ।
संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्नुहुनेछ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्