यात्रु बस दुर्घटना, ४४ जना घाइते


 


काभ्रे, फागुन २१
काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।

रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताउनुभयो । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । “घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ”, प्रहरी निरीक्षक झाले भन्नुभयो । गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्