प्रि–मौसमको प्रभाव देखिदै, छिनमै परिवर्तन मनसुनी गतिविधि


 



काठमाडौं, फागुन २५
पश्चिमी वायुको प्रभाव शनिबार साँझबाट नै हटेपछि आइतबार विहानैदेखि मौसम सफा देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु र स्थानीय वायुको संगमपछि शुक्रबार रातिदेखि नै मुलुकभर वर्षा भएको थियो।

आइतबार पनि पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले बताइन् । यस्तै, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेकोसमेत जनाएको छ । यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार शनिबार सबैभन्दा बढी डडेल्धुरामा ५९ मिलिमिटर वर्षा भएको थियो भने दीपायलमा ३३ मिलिमिटर, धनगढीमा ४० मिलिमिटर, वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा भएको थियो । यस्तै, नेपालगन्जमा २२ मिलिमिटर, जुम्लामा १४ मिलिमिटर, दाङमा २७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार पोखरामा २६ मिलिमिटर, भैरहवामा ३८ मिलिमिटर, सिमरामा १० मिलिमिटर, ओखलढुंगामा दुई मिलिमिटर र विराटनगरमा चार मिलिमिटर वर्षा भयो ।

प्रि–मनसुनको समयमा हुने मनसुनी गतिविधिले एक्कासी परिवर्तन भई विकराल रूपसमेत लिन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले यस्तो परिस्थिति आउन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुन अवधिमा दिउँसो घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समीर श्रेष्ठले बताए । ‘जाडो महिना सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन सुरु भएको उनले बताए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्