Deshko News
१८ आश्विन २०८०, बिहिबार

स्वास्थ्य केन्द्रीत बजेटको माग



काठमाडौं, बैशाख १८
आउँदो बजेटलाई जनस्वास्थ्यमा केन्द्रीत गर्नुपर्ने माग उच्च छ । कोरोना भाइरसका कारण आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रीत हुनुपर्ने माग उठेको हो ।

स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन स्वास्थ्य बजेटको आकार १० प्रतिशत बढाउनुपर्ने पूर्व सचिव डा सेनेन्द्र उप्रेतीको भनाइ छ ।

‘आर्थिक वर्ष ०६४ र ०६५ मा ७ दशमलव १६ प्रतिशत एक पटक विनियोजन भयो,’ उनले भने, ‘स्वास्थ्यमा ५ प्रतिशत भन्दा बढी बजेट छुट्याएको थाहा छैन ।’

विकसित राष्ट्रले कूल बजेटको करिब ३०र३५ प्रतिशत स्वास्थ्य क्षेत्रलाई छुट्याउने गरेको समेत उनले सुनाए । जनतालाई गुणस्तरीय सेवा दिनका लागि बजेट रकम बढाउनुको विकल्प नभएको पूर्व सचिव डा उप्रेती बताउँछन् । सरकारले अन्तर्राष्ट्रिय रुपमा जनतालाई दिने स्वास्थ्य सेवाको बारेमा जनाएका प्रतिबद्धतालाई कार्यान्वयन गर्नको लागि पनि स्वास्थ्यमा बजेटको अकार बढाउनुपर्ने उनले बताए ।

सडक, पुल, भवनहरु निर्माण गर्नुलाई मात्रै विकास भएको मान्न नहुने उनी बताउँछन् । ‘गाउँ–गाउँमा डोजर लगाएर भित्ता कोतरेर पानी नपरुन्जेल कच्ची सडक अनि कतै पक्की सडक बनाउनुलाई मात्रै विकास मान्नु हुँदैन,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा गरिने खर्च विकासका लागि लगानी हो भनेर सम्झनुपर्छ ।’

स्वास्थ्य क्षेत्रमा देश जति अब्बल ठहरिन्छ त्यहीअनुसार देशको विकास हुन सक्ने उनी बताउँछन् । वर्तमान समयमा जस्तै जुनसुकै समय सरुवा रोग, नयाँ–नयाँ नसर्ने रोगले सताइरहेको अवस्थामा जनतालाई गुणस्तरीय सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा बजेटको आकार बढाउन आवश्यक भएको उनी ठान्छन् । यद्यपि, विनियोजित बजेट विगतदेखि नै मन्त्रालयले पूर्णरुपमा खर्च गर्न नसकेको उनी बताउँछन् ।

यता, मन्त्रालयका उप–सचिव लिलाराज पौडेलले बजेट खर्च भएको तर चालु वर्ष कति खर्च भयो भन्ने त्यसको यकिन तथ्याङ्क आउन समय लाग्ने बताउँछन् । असार मसान्तसम्म वास्तविक खर्चको विवरण आउने उनले बताए ।

स्वास्थ्यतर्फ चालु आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो गत आव भन्दा १२ अर्ब बढी बजेट हो । गत आवमा स्वास्थ्यलाई ५६ अर्ब ४१ करोड ९७ लाख बजेट बिनियोजना गरिएको थियो । चालु बजेटले नियमित कार्यक्रमसँगै देशका सबै जिल्लामा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, स्वास्थ्य बिमा कार्यक्रम विस्तार, वडा स्तरमा पूर्ण खोप कार्यक्रम, समुदायमा नागरिक आरोग्य कार्यक्रम संचालन गर्न ठूलो धनराशी विनियोजन गरिएको थियो । यस्तै प्रत्येक प्रदेशमा प्रयोगशाला स्थापना, जनस्वास्थ्य प्रयोगशालालाई विस्तार गर्दै राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने जस्ता कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News