राजमार्गमा छैन सतर्कता, संक्रमणको त्रास उच्च


 


पाँचथर, बैशाख १८

सवारी सञ्चालनमा कडाइ नहुँदा यहाँको राजमार्ग क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको त्रास फैलिएको छ ।

लकडाउनको पूर्ण पालना नहुँदा अत्यावाश्यकबाहेकका सवारीका साधनसमेत सञ्चालन भइरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय क्षेत्रका सवारीका साधनबिना जाँच नियमित सञ्चालन हुँदा राजमार्ग क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको त्रास फैलिएको हो । खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको आयात हुने झापा जिल्लामा कोभिड–१९ का सङ्क्रमित फेला परेपछि पाँचथर, इलाम र ताप्लेजुङको राजमार्ग क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् ।

राजमार्गमा पर्ने नाकामा सवारीचालक तथा सवारीमा सवारहरुको तापक्रम परीक्षण हुने गरेको छ । यसअतिरिक्त उनीहरुलाई सावधानी अपनाउन आग्रह गर्ने गरिएको छ । नेपालमा कोभिड–१९ का अधिकांश सङ्क्रमितमा कुनै स्वास्थ्य समस्या नदेखिने खबरहरु सार्वजनिक भएपछि व्यवसायी त्रसित बनेका हुन् । स्थानीयवासीका आवश्यकता पूर्तिका लागि व्यवसाय सञ्चालन गर्नुपर्ने तथा तराईबाट आएकाको सीधा सम्पर्कमा पुग्नुपर्ने बाध्यताले आफूहरु भयभित भएको मेची राजमार्गका पर्ने पाँचथरको हिलिहाङ–७ कुपिलीका व्यवसायी धनपति प्याकुरेलको भनाइ छ । सवारीका चालक तथा यात्रु व्यवसायी तथा स्थानीयवासीको सीधा सम्पर्कमा पुग्दा सङ्क्रमणको जोखिम बढेको हो । राजमार्ग क्षेत्रमा सङ्क्रमणबाट बच्ने सावधानीबारे उचित परामर्श नहुनु र सरकारी निकायबाट सतर्कता नअपनाइनुले जोखिम बढेको राजमार्ग क्षेत्रका व्यवसायीहरुको भनाइ छ ।

ग्रामीण बस्तीहरुमा राजमार्ग आसपासका स–साना बजारबाट खाद्यान्नलगायत सामग्री खरिद गरिने हुँदा अधिकांश पसल खुला रहने गरेका छन् । साना व्यवसायीले खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको एकैपटक ठूलो मौज्दात राख्न नसक्ने भएकाले तराईका जिल्ला तथा सदरमुकाम नियमित ढुवानी र बिक्री हुने गर्दछ । सवारी चालक तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रुलाई सङ्क्रमणको विस्तारबारे सचेत तुल्याइ सुरक्षित रहने वातावरण निर्माण गरिनुपर्ने व्यवसायीको माग छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले कोभिड–१९ को सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सडक सुरक्षामा ध्यान नपुगेको स्वीकार्दै तत्कालै सुरक्षा सतर्कताका कार्यक्रम अघि बढाइने बताउनुभयो । “लकडाउनको प्रभावकारी कार्यान्वयन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा सबैको ध्यान गयो”, सापकोटाले भन्नुभयो, “अब सडक क्षेत्रमा सङ्क्रमणको जोखिम हुन नदिन पहल थाल्नेछु ।” राजमार्ग क्षेत्रका व्यवसायीलाई विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले मुख्य राजमार्ग क्षेत्रमा सङ्क्रमणको जोखिम कम गर्न नाकामा कडाइ गरिएको बताउँदै अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा पूर्णतः बन्देज गरिने बताउनुभयो । उहाँले स्थानीय तहसँगको समन्वयमा सडक क्षेत्रको सुरक्षामा जोड दिइएको बताउनुभयो । पाँचथरमा मेची राजमार्ग ७६ किलोमिटर दूरी पर्दछ । मेची राजमार्गले जिल्लाका फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका, हिलिहाङ र याङवरक गाउँपालिकालाई समेटेको छ ।

सबैभन्दा लामो खण्ड पर्ने हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले खाद्यान्नलगायत अत्यावश्यक काममा सञ्चालित सवारी साधनको सङ्ख्या ठूलो हुनु तथा विकास निर्माणको कार्यसमेत शुरु हुनुले सवारीको चापमा वृद्धि भइ जोखिम बढेको वताउनुभयो । अत्यावश्यकबाहेकका बजार पसलसमेत सञ्चालन आएकाले त्यसलाई रोक्ने प्रयास गर्ने तथा सुरक्षा सावधानी अपनाउन आग्रह गरिने अध्यक्ष लिङ्देनको भनाइ छ । उहाँले यथाशीघ्र राजमार्ग क्षेत्रमा सतर्कताका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

ग्रामीण क्षेत्रमा मास्क, स्यानिटाइजरलगायत सङ्क्रमण रोक्ने साधनको प्रयोगसमेत प्रभावकारी हुनसकेको छैन । जसका कारण बाहिरबाट आउनेहरुको प्रत्यक्ष सम्पर्कमा स्थानीयवासी पुग्ने गरेका छन् । यस्तै खाद्यान्न बिक्री गर्ने नाममा बजार पसल आंशिकरूपमा खुल्न थालेपछि सङ्क्रमणको जोखिममा वृद्धि भएको हो । यहाँ मेची राजमार्गले पाँचथर सदरमुकाम फिदिमसहित राँके, पौवाभञ्ज्याङ, लालीखर्क, जोरपोखरी, गोपेटार, भालुचोक, सिंहपुर, काबेलीलगायत बजारलाई समेट्छ । मेची राजमार्गमा अन्य दर्जनौँ स–साना टुक्रेबजारसमेत रहेका छन् ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्