वेस्ट इन्डिज ‘ए’ले एक खेल अगावै जित्यो टि–२० सिरिज उपाधि


 


काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि–२० सिरिज उपाधि जितेको छ ।

बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३–१ ले सिरिज जितेको हो ।

पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ रनले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल इनिङको अन्तिम बलमा १८१ रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले लगातार तेस्रो अर्धशतक जडे । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । तर रोहित बाहेकका अन्य ब्याटर चल्न नसक्दा नेपालले हार टार्न सकेन ।

ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै म्याथ्यु फोर्डद्वारा शुन्यमा नै बोल्ड आउट भए । यस्तै अर्का ओपनर कुशल भुर्तेल भने पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर फेबियन एलेनद्वारा बोल्ड भए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै एलेनकै बलमा रोस्टन चेजद्वारा क्याच आउट भए ।

पाचौँ नम्बरमा आएका सन्दिप जोराले सुरुवात राम्रो गरेपनि ठुलो स्कोर बनाउन सकेनन् । उनी १४ बलमा १९ रन बनाएर १०औ ओभरमा हेडन वाल्शको शिकार बने ।

चौथो विकेटको पतन पछि रोहित र दीपेन्द्र मिलेर साझेदारी अगाडी बढाइरहेका थिए । तर १४औ ओभरमा रोहित वाल्शको बलमा लङ–अफमा क्याच आउट भएपछि ५३ रनको सो साझेदारी तोडियो ।

दीपेन्द्र पनि धेरै बेर क्रिजमा रहेनन् । १७औ ओभरमा १४ बलमा १९ रन बनाएर उनीफोर्डको बलमा चार्ल्सद्वारा क्याच आउट हुन पुगे । सोहि ओभरमा गुलशन झा पनि १९ रन नै बनाएर अथान्जेद्वारा समातिए । अर्को ओभरमा प्रतिश जिसी वाल्शको बलमा शुन्यमै पेभेलियन फर्किए ।

सोमपाल कामीलाई अन्तिम ओभरमा गुडकेश मोतीद्वारा १० रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा ललित राजबंशी पनि शुन्यमा स्टम्प आउट भए । अविनाश बोहोरा ८ बलमा १७ रन बनाएर अविजित रहे ।

वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फोर्ड र हेडन वाल्शले समान ३–३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २–२ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे ।

दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए ।

दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड–विकेटमा क्याच आउट भए ।

१४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए । अन्य बलरले भने विकेट लिन सकेनन् ।

ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई–दुई ओभरमा क्रमशः १५ र २५ रन दिए ।

नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । सिरिजको अन्तिम खेल आगामी शनिवार हुनेछ ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्