अनियमितता गर्नेलाई नछाड्ने चेतावनी


 


काठमाडौं, जेठ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसद्लाई सम्बोधन गरिरहनु भएको छ । संसद्मा कोरोनाको खर्चबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संकटका बेला कसैले अनियमितता गरेको पाइए नछाड्ने चेतावनी दिनुभएको छ ।

‘कतै अनियमतिता नै भएन होला भन्ने दाबी म गर्दिनँ’, प्रधानमन्त्रीले भन्नुभयो ‘तर, सबै अनियमितता नै भयो होला भनेर शंका पनि गर्दिन । यदि यस्तो संकटका बेला पनि अनियमितता भएको छ भने म भन्न चाहन्छु, कसैलाई छाडिने छैन ।’

राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको छ । लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको उहाँले बताउनुभयो ।

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको उल्लेख गर्दै ‘पूर्खाले यो देश लडेर बचाएको बताउनुभयो । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गनर्ज सक्छौं,’ उहाँले भन्नुभयो, ‘अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना मुखरित गरेको छ ।’

ओलीको भनाइ थियो ‘यो कसले जस लिने ? कसको देवत्वकरण गर्ने भन्ने विषय होइन । सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण हो । यसमा हामीले लामो समयदेखि उठाएका छौं । जनस्तरबाट उठेको छ । आफ्नै स्वेच्छाले खोज गरेका छन् । तथ्यहरु स्थापित गरेका छन् र, यसमा कसैले पाउला कि भन्ने चिन्ता गर्नु पर्दैन । कोही जसबाट छुट्ला कि भन्नु पर्दैन । यो हाम्रो संसदको सर्वसम्मतको निर्णय हुन्छ । सर्वसम्मत गरेपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा समहित छ भन्ने प्रष्ट हुन्छ ।’

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्