चीनबाट १ अर्ब ६२ करोडको स्वास्थ्य सामग्री आयात


 


सिन्धुपाल्चोक जेठ ३०

तातोपानी नाका भएर पछिल्लो दुई महिनामा एक अर्ब ६२ करोड रूपैयाँभन्दा बढी मुल्यका स्वास्थ्य सामग्री नेपाल आयात भएको छ ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक हेर्दा नाका भएर कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिने १४ किसिमका स्वास्थ्य सामग्री आयात भएको देखिएको छ । गत चैत अन्तिम साताबाट नाका सञ्चालनमा आएयता तातोपानी भएर हुँदै चीनबाट एक अर्ब ६२ करोड १२ लाख ९६ हजार रुपैयाँ मुल्यका स्वास्थ्य सामग्री आयात भएको भन्सारको तथ्यांक छ ।

चीनमा कोरोना महामारी फैलिन थालेसंगै नाका सिल गर्दा तातोपानी माघदेखि बन्द हुन पुगेको थियो । नेपालमा कोरोना संक्रमण देखिन थालेपछि अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन सरकारले उत्तरका रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय गरेको थियो । यो निर्णयसंगै चैत २६ गतेबाट नाका हुँदै स्वास्थ्य सामग्री आउन थालेका थिए । रसुवागढी नाका भने अझै सञ्चालनमा आउन सकेको छैन ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्री नाका चैत अन्तिम साता खुले पनि स्वास्थ्य सामग्री भने बैशाख दोस्रो सातादेखि निरन्तर आयात भइरहेको बताउँछन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्