प्रतिनिधिसभा बैठकः जब उपेन्द्र यादव र राजेन्द्र महतोले तताए माहोल


 


काठमाडौं, जेठ ३१

मुलुकको नयाँ नक्सा संविधानको अनूसूचीमा राख्ने क्रममा शनिबार प्रतिनिधिसभामा मधेशका दुई नेताले सबैको ध्यान आकर्षण गरे । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए । तर काली महाकाली नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।
महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ? ’

कांग्रेस र कम्युनिस्ट नेताहरूलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेशीहरूलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैँ गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।
राष्ट्रिय जनता पार्टी राजपाका सांसद राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताएका छन् ।

संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति आफूहरुको असहमति रहेको बताए । तर अहिले राष्ट्रियता र भूमिको सवाल उठेको भन्दै उनले भने, ‘सबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्छौं ।’

५८ वर्ष पहिलेसम्म लिम्पियाधुरा, कालापानी लगायतका भूमि नेपालको नक्सामा रहेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘कुन देश बेचुवाले देश बेच्यो ? स्वेतपत्र जारी गर्नु पर्दैन ? देश बेचुवाहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?’

मधेसी जनताले सीमाको रक्षा गर्दै आएको भन्दै आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न चेतावनी समेत दिएका छन् । ‘कति चोटी अग्नि परीक्षा दिने ? कति पटक प्रमाण दिने हामीले’ उनले भने, ‘मधेसी जनतामाथि अन्याय नगर्नुस् ।’

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्