सुदूरपश्चिममा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु


 


धनगढी, असोज १०
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ३० वर्षीय पुरुष, बैतडीका ३० वर्षीय र बझाङका एक पुरुषको मुत्यु भएको हो।

भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधी मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए। मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको हो। उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए। उनको पनि मृत्यु पश्चात् मात्रै आज संक्रमण पुष्टि भएको हो । उनी मिर्गौलाको दीर्घरोगी थिए ।

त्यसैगरी बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको छ।

प्रकाशित मिति: १० आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्