भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ


 



धनगढी, कार्तिक १४
भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् ।

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । उनले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई  हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् । 

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्