जब चितामा राखिएको शवको पेट चिरेको देखियो…


 



विराटनगर, मंसिर १०
टाउकाको शल्यक्रिया गर्दा मृत्यु भएका मोरङ केराबारी–९ बेलचौरीका विक्की ऋषिदेवको चितामाथि राखिएको शव गाउँलेले पोस्टमार्टमका लागि अस्पताल लिए ।

अन्त्येष्टि गर्न सोमबार साँझ गाउँलेले चितामाथि शव राखेपनि कपडा खोल्दा उनको पेट काटेर पाँचवटा टाँका लगाएको देखियो ।

चिकित्सकले मानव अंग निकालेको उनीहरूले आशंका गरे । त्यसपछि उनको अन्त्येष्टि नगरी गाउँलेले पोस्टमार्टम गर्न राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए ।

विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार डा। प्रकाश काफ्लेसहितको चिकित्सक टोलीले ऋषिदेवको टाउकामा जमेको पानी निकाल्न शल्यक्रिया गरेको थियो । शनिबार दिउँसो उनको मृत्यु भएको अस्पतालले घोषणा गर्‍यो ।

गाउँलेको शंका हटाउन शवको अन्त्येष्टि नगरी पोस्टमार्टम गर्न पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । शल्यक्रियामा संलग्न डा। प्रकाश काफ्लेले भने टाउकामा जमेको पानी निकाल्न पेटमा प्वाल पार्नुपरेको बताएका छन् ।

टाउकामा जमेको पानी टाउकैबाट निकाल्न नमिल्ने भएकाले पेट काटिएको उनले बताए । उनले भेन्ट्री–कुलोपेरिटनियल सन्ट प्रविधिबाट पेटमा प्वाल पारेर पाइप हालेर टाउकामा पुर्‍याई टनेलिङ गरेर पानी निकाल्ने गरिएको बताए । 

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्