सुदूरपश्चिममा १७ सय कोरोना संक्रमित घरमै


 



धनगढी, मंसिर २३
सुदूरपश्चिममा कोरोना भाइरसका सक्रिय संक्रमितमध्ये १७ सय भन्दा बढी संक्रमित घरमै बसिरहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार एक हजार सात सय दुई जना संक्रमित होम आइसोलेनमै बसेका छन् ।

दुई सय ६९ बिरामी मात्रै संस्थागत आइसोलसनमा बसेका छन् । सात जना अस्पतालको आइसोलेसनमा छन् भने दुई जना भेन्टिलेटरमा भर्ना भएका छन् । यो तथ्यांक सोमबार पुष्टि भएका ८८ संक्रमित बाहेकको रहेको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

विभिन्न संस्थागत आइसोलेसनमा बसिरहेका संक्रमितमध्ये सबैभन्दा बढी कञ्चनपुरमा ९३ जना छन् । डोटीमा ७५ जना, डडेल्धुरामा ३८ जना, कैलालीमा ३१ जना, बझाङमा २२, अछाममा ६ जना र बैतडीमा चार जना संक्रमित आइसोलनमा बसिरहेका छन् । दार्चुला र बाजुरामा भने एक जना संक्रमित पनि संस्थागत आइसोलनमा बसेका छैनन् । जबकी सोमबारसम्मको तथ्यांक जोड्दा सक्रिय संक्रमितमा प्रदेशमै तेस्रो नम्बरमा रहेको दार्चुलामा दुई सय ५७ जना संक्रमित पुगेका छन् । बाजुरामा ३५ जना सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी ६ सय ३० जना सक्रिय संक्रमित भएको कैलालीमा जम्मा ३१ जना मात्रै आइसोलेसनमा बसेका छन् । बाँकी सबै घरमै बसिरहेका छन् । जबकी एक सय ३५ जना मात्रै सक्रिय संक्रमित रहेको कञ्चनपुरमा सबैभन्दा बढी ९३ जनालाई आइसोलसनमा राखेर उपचार भइरहेको छ ।

आइसोलेसन बेड पनि सबैभन्दा बढी कैलालीमै छन् । कैलालीमा आइसोलेसन बेडको संख्या ६ सय ७८ छ भने त्यसपछि अछाममा ६ सय नौं बेड छन् । अछाममा पनि सक्रिय संक्रमितको संख्या दुई सय ३५ पुगेपनि संस्थागत आइसोलेसनमा ६ जना संक्रमित मात्रै बसिरहेका छन् ।

प्रदेशभर संस्थागत आइसोलसनमा बसिरहेका सक्रिय संक्रमितमध्ये दुई सय ११ जना पुरुष छन् भने ५८ जना महिला छन् । सुदूरपश्चिममा सोमबारसम्म सक्रिय संक्रमितको संख्या दुई हजार एक सय २६ पुगिसकेको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको स्वावको नमुना परीक्षणमा ८८ जना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या बढेको हो ।

सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४६ जना, अछामको कमलबजारको प्रयोगशालामा २२ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११ जना र बझाङ अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लागत तथ्यांकअनुसार सोमबार सबैभन्दा बढी कैलालीमा ३६ जना, अछाममा २२ जना, डडेल्धुरामा ११ जना, बझाङमा नौं जना, कञ्चनपुरमा सात जना, बैतडीमा दुई र डोटीमा एक जना कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरबाट १५ जना संक्रमित डिस्चार्ज भएका छन् । कैलालीमा एक जनाको मृत्यु भएको छ । यससंगै हालसम्म प्रदेशभर संक्रमित भएका ११ हजार ८ सय १६ जना संक्रमितमध्ये ९ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये हालसम्म ४२ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशका विभिन्न अस्पतालमै बसेर उपचार गराइरहेका संक्रमितको संख्या ६७ छ । त्यसमध्ये नौ जना आइसीयुमा छन् भने दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्