जेष्ठ नागरिकका साथ मनाइयो ७० औं मुक्ति दिवस


 



काठमाडौं, मंसिर २८
२००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको सम्झनामा ७० औँ मुक्ति दिवस जेष्ठ नागरिकहरूका साथ मनाइएको छ ।

राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई मुक्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २४ गते मुक्ति दिवस मनाउने सिलसिलामा बुधबार नक्सालस्थित द होप हर्मिटेजमा आश्रित अल्जाइमरपीडित जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र मस्तिष्घातबाट पीडित युवा पवन कार्कीलाई औषधि लगायतका स्वास्थ्य सामग्री प्रदान गरी मुक्ति दिवस मनाइएको हो ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा रामप्रसाद राईकी छोरी कृष्णकुमारी राई र बुहारी शिवकुमारी राईका हातबाट द होप हर्मिटेजकी सञ्चालिका दीपा देवानलाई न्यानो कपडा र औषधि प्रदान गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष पासाङदोर्ची शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार पारुहाङ राई, महासचिव देवान राई, सदस्य ई। सञ्जीव रोकाहा लगायतले जननायक रामप्रसाद राई र मुक्ति दिवसबारे प्रकाश पारेका थिए ।

यसै गरी जननायक रामप्रसाद राईको जन्मस्थल भोजपुरको बासीखोरामा रामप्रसाद राई स्मृति पार्क संरक्षण समितिले ७० औँ मुक्ति दिवस तथा रामप्रसाद राईको स्मृतिमा साकेला सिली प्रतियोगिता आयोजना गरियो । सोही अवसरमा ज्येष्ठ नागारिकलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा २० जना स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

प्रतियोगितामा चारवटा साकेला सिली समूहले भाग लिएका थिए । कार्यक्रममा सूर्यबहादुर राई, टीकारम राई, सुमन राईले मुक्ति दिवस र कार्यक्रमका बारेमा धारणा राखेका थिए१

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्