बुटवलमा श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी


 


बुटवल, साउन १८
रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

मोहनले साउन १५ गतेदेखि पटक-पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ ।

श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ ।

उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन् । वर्षाले सासूलाई समेत झिकाएर छानबिनको माग गरेकी छन् ।

वर्षाका श्रीमान मोहन नवलपरासीस्थित आफन्तकोमा रहेको जानकारी आएकाले उनलाई ल्याएर थप अनुसन्धान अघि बढाउने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । मोहन गाडी चालक हुन् ।

परिवारका अनुसार वर्षाले दुई सन्तानसहित मोहनसँग बिहे गरेकी हुन् । आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर बिहे गरेको मोहनको परिवारको आरोप छ ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्