नेपाली सेनाद्वारा नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी


 


काठमाडौं, वैशाख २१
नेपाली सेनाले नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरिरहेकाे छ ।सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरेको खुलासा भएको हाे ।

सेनाले २६ वटा बख्तरबंद पर्सनल क्यारियर (एपीसी) र ७२ वटा रणनीतिक सवारीसाधन खरिद गर्ने योजना बनाएको उच्च स्राेतकाे भनाइ छ । तर, पारदर्शी प्रक्रिया नअपनाई भित्राभित्रै काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनबाट हतियार खरिद गर्ने तयारी भइरहेको छ ।

प्रत्येक एपीसीको मूल्य ७७.७ मिलियन रुपैयाँ तोकिएको छ, जुन बजार मूल्यभन्दा निकै बढी हो । नेपाली एजेन्ट लोकेन्द्र कार्कीमार्फत चिनियाँ कम्पनी नोरिन्कोबाट चिनियाँ हतियार खरिद गर्ने नेपाली सेनाको योजना पूर्णबहादुर खड्का रक्षामन्त्री बने लगतै बनेको थियाे । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइ कार्कीको सहयोगमा स्थानीय एजेन्टलाई प्रतिस्थापन गरी चीनबाट ठूलो मात्रामा हतियार खरिद गर्ने नेपाली सेनाको योजना रहेको स्रोतले जनाएको छ ।

उक्त आरोपबारे नेपाली सेनाले कुनै प्रतिक्रिया दिएको छैन । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले नेपाली सेनाले हतियार खरिद गर्ने विषयमा आफूलाई कुनै जानकारी नभएको जानकारी दिनुभयाे । रक्षा मन्त्रालयले पनि कथित हतियार खरिदको बारेमा कुनै जानकारीको खण्डन गरेको छ ।

तरल राजनीतिक अवस्था र संक्रमणकालको फाइदा उठाउँदै हतियार खरिदमा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू सम्भावित हेरफेर र ठूलो मात्रामा ठगीमा संलग्न रहेको स्रोतको दाबी छ । ठूला कमिसनको चाहनाले उच्च तहको राजनीतिक नेतृत्वलाई समेत प्रभाव पार्दै खरिद प्रक्रियामा सम्भावित अवरोधहरू निम्त्याउने गरेको आरोप छ ।

लोकेन्द्र कार्कीले सरकारी अनुमतिबिना सिंगापुरमा ग्लोबल होल्डिङ नेटवर्क प्रालि नामक कम्पनी स्थापना गरी कमिसन मिलाउन, खरिद मूल्य बढाउने र आफ्नै विदेशबाट नेपालमा भुक्तानी गरी ठूलो रकम हिनामिना गर्ने गरेको आरोप छ ।

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्