अनलाईनमार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ


 


काठमाडौं, जेठ ७ । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ गोले रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–७ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ, मोटरसाइकल २ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, एटिएम कार्ड १५ थान, बैंकको चेकबुक १२ थानलगायतका सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि विभिन्न प्रलोभन देखाउनुको साथै अनधिकृत रूपमा ईसेवा आईडीमासमेत पहुँच पुर्‍याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक–पटक गरी जम्मा १६ लाख ५९ हजार रूपैयाँ रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गरेको खुल्न आएको छ ।

सञ्जय र करणले हालसम्म बिनान्स एप मार्फत १० करोड ९५ लाख ४२ हजार ५ सय २७ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्