केही सिडिओसहित २२ उपसचिव र सहसचिवको सरुवा


 


काठमाडौं, जेठ ३ । गृहमन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २२ उपसचिव र सहसचिवको सरुवा गरेको छ । ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्र प्रसाद पण्डितलाई पठाइएको छ भने त्यहाँका प्रजिअ जय नारायण आचार्य गृह मन्त्रालयमा आएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य गएका छन् ।

यसैगरी सहसचिव बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय धादिङको प्रमुख जिल्ला अधिकारी, तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय, वासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय कास्कीको प्रमुख जिल्ला अधिकारी, शिवराम न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछामको प्रमुख जिल्ला अधिकारी, कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र टेकबहादुर केसीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र र अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई गृहमा ल्याइएको छ । अर्घाखाँचीकी प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा गरेको छ ।

भक्तपुरका सप्रजिअ माधव प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका उपसचिव कृष्ण पौडेललाई जिल्ला प्रशासन कार्यालय तेह्रथुम, तेह्रथुमका मोहन प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय बर्दिया सहायक प्रमुख जिल्ला अधिकारी, अध्यागमन विभागका तुलाराज सुनुवारलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको गृह मन्त्रालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, गृह मन्त्रालयका डोरेन्द्र निरौलालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअ, जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयका बलराम ढकाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्