नागरिक उन्मुक्तिलाई रेशम छुट्ने आशा अझै बाँकी


 


काठमाडौं, जेठ ६ । सत्ता गठबन्धनको एक घटक दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई छुटाउन कुनै कसर बाँकी नराख्ने देखिएको छ । पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई सर्वोच्चले जन्मकैदको फैसला गरेपनि नयाँ बाटोबाट छुट्ने आशा कायमै राखेको छ ।

जन्मकैदको फैसलापछि स्वयम रेशम चौधरीले नै मुद्दा पुनरावलोकन गरेर जेलमुक्त हुने बाटो बाँकी रहेको बताएका थिए । नागरिक उन्मुक्तिले पनि रेशमलाई जन्मकैदको फैसला आएपछि घोषणा गरिएका कार्यक्रमहरु पनि फिर्ता लिएको छ । पार्टीले आज (शनिबार)देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भनेर संसद्‌मा प्रतिबद्धता जनाएको र फौजदारी विधेयक संसद्‌मा टेबल भइसकेको भन्‍दै नागरिक उन्मुक्ति आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार विज्ञप्ति जारी गर्दै बन्द ‘अर्को सूचना नआउँदासम्म’ फिर्ता लिएको जानकारी गराएका छन्। सरकार पक्षसँग सकारात्मक सम्झौता भएको भन्दै नागरिक उन्मुक्ति पार्टीले, नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरेको जनाएको छ ।

टीकापुर हत्याकाण्डमा पार्टीका नेता रेशम चौधरीको हकमा जिल्ला अदालत र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्