नक्कली भुटानी शरणार्थी प्रकरण : आज प्रतिवेदन बुझाउने प्रहरीको तयारी


 


काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेको छ । यस प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको बयान पूरा भएसँगै प्रहरीले रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

प्रहरीले आज (आइतबार) कार्यालय समयमा राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित १६ जना प्रहरीको हिरासतमा छन् ।

राष्ट्रहित प्रतिकुलको कसुर, ठगी र किर्ते सम्बन्धी कसुरमा अधिकतम सजाय हुनुपर्ने मागदावी लिएर अदालतमा मुद्दा लैजान राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।

प्रहरीले ३ वटा कसुरसँगै ‘सङ्गठित अपराध’ र ‘एकीकृत कसुर’ बापत थप सजायको मागदावी गर्नुपर्ने जिकिर गरेको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्