गेटा मेडिकल कलेज विश्वविद्यालय नै हो : अर्थमन्त्री


 


काठमाडौं, जेठ २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले नाम जे दिए पनि गेटा मेडिकल कलेज विश्वविद्यालय नै भएको बताएका हुन् । उनले गेटा मेडिकल कलेजका लागि आगामी आर्थिक वर्षमा मात्र १ अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको जानकारी दिए ।

मन्त्री महतले पूर्ण क्षमतामा विश्वविद्यालय चलोस् भन्ने सरकारको मनसाय रहेको बताए । चालु आर्थिक वर्षमा गेटामा शिक्षा र स्वास्थ्य मन्त्रालय दुबैबाट बजेट छुट्याइएको पनि उनको भनाइ छ ।

यसको ऐन निर्माणको क्रममा रहेको भन्दै उनले यसमा जनताको भावना अनुसार विश्वविद्यालय नै नाम उल्लेख गर्ने प्रतिवद्धता रहेको बताए ।

मन्त्रिपरिषद्ले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्नुका साथै सरकारको नीति तथा कार्यक्रममा पनि परेको थियो । तर आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आएपछि सुदूरपश्चिममा विरोध भइरहेको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्