बजेट तीन जिल्लामा बढी केन्द्रित भएको आरोपमा अर्थमन्त्रीले के भने ?


 


काठमाडौं, जेठ २९ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी वर्षको बजेट तीन जिल्लामा बढी केन्द्रीत रहेको भन्ने आरोपको जवाफ दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा आज (सोमबार) आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल १२३ अर्ब रुपियाँ विनियोजन रहेकोमा तीन जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको बताए ।

उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा रकम विनियोजन बढाउनु परेको स्पष्ट पारे ।

यसैगरी, मधेश प्रदेशमा बजेट विनियोजन कम नगरिएको अर्थमन्त्री महतले बताए । मधेश प्रदेशमा कम रकम विनियोजन गरिएको विषयमा संसदमा जवाफ दिँदै उनले भने, ‘‘पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगन्ज कोरिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहर लगायतका सिँचाइ आयोजना लगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरूमा उल्लेख्य रकम विनियोजन भएको छ ।’’

त्यस्तै, तराई मदेशलाई काठमाडौँसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ । विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू मधेश प्रदेशमा सञ्चालित छन् । सहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेश प्रदेशमा विनियोजन भएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्