प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना, ८ जनाको मृत्यु


 


प्युठान, जेठ २९ । प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेको लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, लमही–७ बस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।

१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्