मन्त्री किरातीको खुलासा- निगमलाई जहाज किन्न नदिने षड्यन्त्र हुँदैछ


 


बुटवल, जेठ ३० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निजी विमान कम्पनीको स्वार्थमा नेपाल वायु सेवा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले यस्तो खुलासा गरेका हुन् ।

उनले नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने बताए । निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्नेचाहिँ उनले खुलाएनन् ।

मन्त्री किरातीले ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले जहाज खरिद गर्नैपर्न बताए । निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किराँतीको भनाइ छ । उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बताए ।

भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने आश्वासन दिए । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताए ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्