शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार पाँच अर्ब माथि


 


काठमाडौं, शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

आज अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । यस्तै बैंक, जीवन बीमा, माइक्रो फाइनान्स लगायत समूहको शेयर बढ्दा विकास बैंक, फाइनान्स, होटल, व्यापार लगायतका समूहको शेयर घटेको छ । आज कारोबार रकम पनि बढेर पाँच अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।

आज दुई सय ७५ वटा कम्पनीका एक करोड २५ लाख कित्ता शेयर पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज खप्तड लघुवित्त र सिटी होटलको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढ्दा पनि राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावरको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज एक सय २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ । ६ वटाको यथावत् रहेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्